नक्सा सच्याउन भारतलाई पत्र पठाई सकिएको छ – अध्यक्ष प्रचण्ड
काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परराष्ट्र मन्त्रालयमार्फत् भारतलाई पत्र पठाइसकिएको बताएका छन्। चुनावी सभाका लागि बागलुङको बुर्तिवाङ पुगेका प्रचण्डले उक्त कुरा बताएका हुन्। साथै उनले भारतले सार्वजनिक गरेको नयाँ नक्सा स्वीकार्न नसकिनेसमेत बताएका छन्।
‘कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रै हो। हाम्रो भूभाग रक्षार्थ जुनसुकै पहल गर्न पनि तयार छौं,’ उनले भने,‘भारतलाई परराष्ट्र मन्त्रालयबाट पत्र पठाइसकिएको छ। परराष्ट्रले भारत पठाएको पत्रको ड्राफ्ट प्रधानमन्त्री र मैले हेरेका छौं।’
सोही कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले वर्तमान सरकारको कार्यकालमा डबल डिजिटको आर्थिक वृद्धिदर हुने दाबी उनले दाबी गरे। अन्तराष्ट्रिय निकायले नेपालको आर्थिक वृद्धिदर ७ प्रतिशत पुगिसकेको तथ्य बाहिर ल्याएको उनको भनाइ थियो।
पार्टी महासचिव विष्णु पौडेलसहित राष्ट्रिय जनमोर्चाका उम्मेदवार खिमविक्रम शाहीलाई मत माग्न बागलुङ पुगेका प्रचण्डले वामगठबन्धन नटुट्ने दाबी गरे। पार्टीको निर्णय केहीले अवज्ञा गरेको सुनेर राष्ट्रिय जनमोर्चाका उम्मेदवारलाई मत माग्न आएको प्रचण्डले बताए।
नेकपाले चुनावी गठबन्धन गर्दै बागलुङ २ ‘ख’ मा राष्ट्रिय जनमोर्चाका उम्मेदवारलाई सघाएको छ।

