डिभिजन वन कार्यालय बाँकेद्वारा काठ मिलमा छापा

नेपालगन्ज, बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ६,एच गाउँमा रहेको एक स:मिल (काठ चिर्ने मिल) मा शुक्रवार दिउँसो डिभिजन वन कार्यालय बाँके र ईलाका प्रहरी कार्यालय कोहलपुरको संयुक्त टोलीले छापा मारी ठूलो परिमाणमा अबैध सालको काठ बरामद गर्नुका साथै एक व्यक्ती समेत पक्राउ गरेको छ ।

बैजनाथ – ६ मा रहेको न्यु कोहलपुर स:मिलमा अबैध सालको काठ रहेको भन्ने सुराकीको सुचनाको आधारमा छापा मारी अबैध काठ बरामद गर्नुका साथै एक व्यक्तीलाई समेत पक्राउ गरेको कोहलपुर सब डिभिजन बन कार्यालयका वन अधिकृत राम कुमार चौधरीले बताए । काठ सहित कोहलपुर नगरपालिका वडा नम्बर – ३ मदनचोकका कमल बहादुर थापालाई पक्राउ गरिएको र अर्को एकजना भने फरार भएको वन अधिकृत चौधरीले बताए ।

डिभिजन वन कार्यालय बाँकेका वन अधिकृत रमेश बुढाथोकीका अनुसार ठूलो परिमाणमा सालको गोलिया र चिरान काठ बरामद गरिएको हो । ‘ठूलो मात्रामा अबैध सालको काठ (गोलिया र चिरान) बरामद गरिएको छ, समय अभाबका कारण आज चिरान काठ मात्र नाप्न सकियो, बचेको गोलिया काठ भोलि नाप्ने योजनामा छौं ।’ वन अधिकृत बुढाथोकीले भने । उनका अनुसार शुक्रबार नापेको चिरान काठ ३३० थान रहेको र उक्त चिरान काठको परिमाण १९३.९८ क्यु फुट रहेको छ । सो चिरान काठको मात्रै स्थानीय बजार मुल्य झण्डै १० लाख रहेको उनले बताए ।

बैजनाथको उक्त स:मिलमा छापा मारी पक्राउ गरिएका व्यक्ति र बरामद गरिएको काठ मध्यको नापी गरिएको चिरान काठ डिभिजन बन कार्यालय बाँकेमा ल्याईएको छ । गोलिया काठ भने शिल गरेर उक्त मिलमै राखिएको छ । नापजाँच गरिसके पछि मात्र उक्त काठलाई वन कार्यालयमा ल्याईने बताईएको छ ।

‘सो मिलमा पुर्जी बिनाको अबैध काठ रहेको भन्ने सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय कोहलपुर र डिभिजन वन कार्यालयको संयुक्त टोलिले छापा मारी काठ सहित पक्राउ परेका व्यक्ती र बरामद गरि नापी गरेको चिरान काठलाई वन कार्यालयमा ल्याईएको छ ।’ डिभिजन बन कार्यालय बाँकेका निमित्त डिभिजनल वन अधिकृत गणेश खड्काले भने । उनले बाँकि रहेको गोलिया काठको नापजाँच गरिसकेपछि मात्र पक्राउ परेका व्यक्ति र बरामद गरिएको काठको बारेमा थप अनुसन्धान गरि कानुन अनुसार कारवाही गर्ने बताए ।