चितवन मेडिकल कलेजका विद्यार्थीले भने– प्रशासनले नै षड्यन्त्र गरेर पेस्तोल राख्यो

चितवन,चितवन मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीहरुले कलेज प्रशासनले विद्यार्थीविरुद्ध षड्यन्त्र गरिरहेको बताएका छन्। कलेजको होस्टलबाट दिउसो प्रहरीले पेस्तोल पक्राउ गरेपछि विद्यार्थीहरुले उक्त पेस्तोल कलेजले नै राखेको दाबी गरेका छन्।

प्रहरीले भरतपुर कैलाशनगरमा रहेको कलेजको होस्टलबाट एउटा पेस्तोल र केही थान गाली बरामद गरेको थियो। उक्त घटना लगत्तै विद्यार्थीहरुले संयुक्त हस्ताक्षर गर्दै कलेज प्रशासनले नै हतियार ल्याएको दाबी गरेका हुन्।

‘कलेज परिसरभित्र प्रहरी छिरेर गरेको अनुसन्धान नामक भ्रामक षड्यन्त्र गरि कलेज प्रशासन स्वयंले हतियार ल्याएको कलेजका विद्यार्थी सबै प्रत्यक्षदर्शी छौं,’ विद्यार्थीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विद्यार्थीले कलेज प्रशासनका सबैलाई गिरफ्तार गर्न पनि माग गरेका छन्।’

विद्यार्थीले प्रहरीसमक्ष निवेदन समेत दिएका छन्। प्रहरीले यो विषयमा थप अनुसन्धान गरिरहेको छ। होस्टलका सुरक्षा गार्डले पेस्तोल हुनसक्ने आशंका गर्दै प्रहरीलाई खबर गरेका थिए। सुरक्षा गार्डको जानकारीपछि होस्टलमा पुगेको प्रहरी टोलीले पेस्तोल बरामद गरेको चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लले बताए।

मेडिकल कलेजका विद्यार्थीहरु दुई महिनादेखि शुल्कका विषयलाई लिएर अन्दोलनरत छन्। उनीहरुले आइतबार पनि चितवनमा बृहत प्रदर्शनीको तयारी गरेका छन्। प्रदर्शनको एक दिन अगाडि विद्यार्थीको होस्टलमा पेस्तोल फेला परेपछि थप शंका उत्पन्न भएको एक प्रहरीले जानकारी दिए।