काठमाडौंबाट सीके राउतको गर्जन– पाइला-पाइलामा रंगभेद छ
काठमाडाैँ,जनमत पार्टीका अध्यक्ष डा सीके राउतले पाइला पाइलामा रंगभेद कायम रहेको बताएका छन । उनले सीमा रक्षा गरिरहेका मधेसी समुदायको राष्ट्रियताप्रतिको प्रतिबद्धतामा एउटा वर्गले प्रश्न उठाएको भन्दै आपत्ति जनाए ।
शनिवार काठमाडौंको भृकुटीमण्डपमा आयोजित रंगभेद विरोधी सभालाई सम्वोधन गर्दै राउतले नेपालमा रंगभेद समाप्त भयो भन्नेहरुले बुझपचाएको आरोप लगाएका हुन । ‘जुन ठाउमा महु मस्या ख (नेवारी भाषा) भनेर मधेसीलाई हेपिन्छ । त्यहा बसेर सोध्नु हुन्छ रंगभेद कहा छ ?’ उनले भने, ‘तपाइहरु पूर्वाग्रहको चस्मा खोलेर हेर्नुस पाइला पाइलाामा रंगभेद छ ।’
काठमाडौका गल्ली गल्लीमा मधेसीले रंगभेदको गाली पाइरहेको उनले दावी गरे ।‘रंगभेद खेतमा उव्जिदैन, आकासबाट खस्दैन रुखमा फल्दैन मलजल गर्ने खोक्रो राष्टवादले हो’ उनले भने, ‘मधेसीमाथि प्रश्न उठाउनु भन्दा खोक्रो राष्ट्रवादीले बुझ्नुस सन् १९४७ मा गोर्खा भर्ती गरेर नेपाली युवालाई विदेशी सेनामा पठाउने को हो ? २००७ सालमा असमान सन्धी गर्ने को हो ? २००८ सालमा मन्त्रिपरिषद्मा विदेशी राजदूतलाई राख्ने को हो ? कालापानीमा विदेशी सेना आमन्त्रण गर्ने मधेसी थिएनन, लिपुलेक र लिम्पयाधुरा बेच्ने मधेशी थिएनन् ।’
उनले अगाडि थपे, कालापानीमा असमान सन्धी गर्ने र टकनपुर बेच्ने मधेशी थिएनन् । माथिल्लो कर्णाली जिएमआरलाई बेच्ने र अरुण तेस्रो सतलजलाई बेच्ने मधेसी थिएनन् ।’ सेना र प्रहरीमा मधेसीलाई प्रतिबन्ध लगाएपनि विना वर्दीका सेनाले सीमा रक्षा गरिरहेको उनले दावी गरे ।