बलात्कारको अभियोग लागेका अनेरास्ववियूका नेता राई जेल चलान

काठमाडौं, युवतीमाथि जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका विद्यार्थी ‘नेता’ पुर्पक्षका लागि जेल चलान भएका छन् ।

काठमाडौं जिल्ला अदालतले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भातृ संगठन अनेरास्ववियूका केन्द्रीय सदस्य रहेका इन्द्रहाङ राईलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

अदालतका न्यायाधीश विनोदकुमार पोखरेलको बिहीबार ९मंसिर ५ गतेको इजलाशले राईलाई मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको हो ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले राईविरुद्ध जवरजस्ती करणी गरेको अभियोगमा १० वर्ष कैद सजाय मागदाबी गर्दै बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

तिहारको बेला एकजना (चिनजानकै) युवतीलाई भैली खेल्न बोलाएर बलात्कार गरेको अभियोगमा प्रहरीले राईलाई पक्राउ गरेको थियो ।

अदालतको आदेशपछि राईलाई केन्द्रीय कारागार सुन्धारा चलान गरिएको प्रहरीले जनाएको छ ।