महरा प्रकरण : उच्च अदालतले माग्यो जिल्लाको ‘कैफियत प्रतिवेदन’

काठमाडौं, जबरजस्ती करणी उद्योगको अभियोगअन्तर्गत मुद्दाको पुर्पक्षका लागि थुनामा रहेका पूर्व सभामुख कृष्णबहादुर महराको पुनरावेदन निवेदनमा सुनुवाई गर्दै उच्च अदालत पाटनले ‘कैफियत प्रतिवेदन’ बुझाउन आदेश दिएको छ ।

महराकातर्फबाट बिहीबार दर्ता भएको निवेदनमाथि सुनुवाई गर्दै मुख्य न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले जिल्ला अदालते पुर्पक्ष थुनामा पठाउन आदेश दिँदा लिएका आधार कारण र सक्कल मिसिल पठाउन आदेश दिएको हो ।

महराविरुद्ध संघीय संसद सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि बलात्कार प्रयास (जवरजस्ती करणी उद्योग)को अभियोग लागेको छ ।

प्रहरीको करिब १ महिनाको अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले महराविरुद्ध जवरजस्ती करणी उद्योग र पदीय ओहोदाको दुरुपयोग गरी कसुर गरेको अभियोगमा अधिकत्तम ७ वर्ष कैद सजाय मागदाबी गर्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश सुदर्शनराज पाण्डेको १८ कात्तिकको इजलाशले महरालाई पुर्पक्षका लाथि थुनामा पठाउने आदेश जारी गरेको थियो ।

जिल्ला अदालतको आदेशको पूर्ण पाठ आएपछि महराले उक्त आदेशविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन निवेदन दिएका हुन् ।

मुलुकी फौजदारी कार्यविधी संहिताको दफा ९७३० मा थुनछेक वा तोकिएको धरौट, जमानत वा बैंक जमानतमा चित्त नबुझ्ने पक्षले एक तहसम्म पुनरावेदन सुन्ने अदालतमा निवेदन दिन सक्ने व्यवस्था छ ।