शीतलनिवास पुग्यो नयाँ मन्त्रीको सूची, भोलि शपथ हुने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त हुने मन्त्रीहरूको टुङ्गो लगाएका छन् । नियुक्त हुन लागेका मन्त्रीहरूको शपथ बिहीबार बिहान ११ बजे टुङ्गो लागेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
“नियुक्त हुने मन्त्रीहरूको टुङ्गो लागेको छ । सूची पनि शीतल निवास पुगेको छ,” सचिवालय स्रोतले बाह्रखरीसँग भन्यो, “प्रधानमन्त्रीले आफूले सूची सार्वजनिक नगर्ने र शीतल निवासले जानकारी दिने बताउनुभएको छ ।”
यसअघि प्रधानमन्त्रीले बुधबार नै मन्त्रिपरिषद् पुनःगठन गर्ने तयारी गरेको जानकारी सचिवालयका नेताहरूलाई गराएका थिए । तर सचिवालयको बैठक लम्बिएकाले र अपराह्न चार बजे होटल याक एण्ड यत्तीमा आयोजित कार्यक्रममा सरिक हुनुपर्ने भएकाले शपथ बिहीबार बिहानका लागि सारिएको सचिवालयको दाबी छ ।
सचिवालय स्रोतले दिएको जानकारी अनुसार घटीमा पाँच जना र बढीमा १० जनासम्म मन्त्री हटाइने छन् । हटाइनेमा थममाया थापा, चक्रपाणि खनाल, मातृका यादव, रघुवीर महासेठलगायत रहेको र मन्त्री नियुक्त हुनेमा सुरेन्द्र पाण्डे, प्रभु शाह, लेखराज भट्टलगायतको चर्चा छ ।

