झाडापखाला र भाइरल ज्वरोले १४४ प्रहरी जवान बिरामी
सिन्धुली,सिन्धुलीमा रहेको मध्यक्षेत्रीय प्रहरी तालिम केन्द्र दुधौलीमा झाडापखाला र भाइरल ज्वरोले १ सय ४४ जना प्रहरी जवान बिरामी परेका छन । तालिम केन्द्रका १ सय ४४ जना प्रहरीमा एकै पटक यस्तो प्रकोप देखा परेको हो। तालिममा सहभागी प्रहरीहरूमा गत बिहीबारबाट एकाएक झाडापखला र भइरल ज्वरोको प्रकोप देखापरेको उक्त तालिम केन्द्रका प्रमुख एसएसपी सन्दीप भण्डारीले जानकारी दिए।
‘तालिममा रहेका प्रहरीमा यस्तो समस्या देखापरेपछि तालिम केन्द्रमै आकस्मिक कक्ष स्थापना गरेर उपचार थालिए पनि नियन्त्रणमा आउन सकेको छैन’, उनले भने । तालिम केन्द्रमा दुधौली नगरपालिकाका स्वास्थ्य शाखाका स्वास्थ्यकर्मीको टोलीले बिरामीहरूको उपचार गरिरहेका भए पनि औषधीको अभाव हुन थालेपछि थप जटिल्ता उत्पन्न भएको उनको भनाइ छ।
हाल तालिम केन्द्रमा १ सय २२ जनाको उपचार भइरहेको छ। झाडापखला र ज्वरोका कारण गम्भीर बिरामी भएका अन्यको उपचारका लागि तालिम केन्द्र बाहिर पठाइएको बताइएको छ। दुधौलीमा झाडापखला र ज्वरो प्रकोपका रूपमा देखापरेपछि जिल्ला स्वास्थ्य कार्यालयबाट ६ जनाका विशेषज्ञसहितको टोली तालिम केन्द्रमा पुगेको छ। बिरामीहरूमा रुघाखोकी लाग्ने, टाउको दुख्ने, झाडापखला लाग्ने र निरन्तर ज्वरो आउने समस्या रहेकाे बताइएकाे छ।