श्रम स्वीकृतिको सास्ती उस्तै
काठमाडाैं, वैदेशिक रोजगार कार्यालय ताहाचलमा २०७५ मंसिर ९ गते सेवाग्राहीको भीड थेगिनसक्नु थियो । कतिपयले मन्त्रीलाई गुहार्दा पनि श्रम स्वीकृति पाएनन् ।
समयमा काम नबन्दा कतिपयले उडान रद्द गर्नुपरेको थियो । अधिकांश त उडान छुट्ला कि भन्ने चिन्तामा देखिन्थे । सरकारले प्रदेशबाट श्रम स्वीकृति दिने व्यवस्था गरे पनि त्यसका लागि सेवाग्राही काठमाडौंमै आउने गरेको भेटियो ।
साँझ साढे ५ बजेको थियो, उदयपुरका छविन्द्रबहादुर मगर हतास देखिन्थे । घडी हेर्दै भन्दै उनी थिए, ‘बर्बादै भयो ।’ उनी आइतबारै साउदी अरब उड्नुपर्ने रहेछ ।
‘आज (आइतबार) राति १० बजेको टिकट हो । काम भएन भने त बर्बादै हुन्छ’, उनी साथीहरूसँग दुखेसो गर्दै थिए, ‘कति बेला काम हुन्छ अनि होटल पुगेर सामान लिई एअरपोर्ट जाऔं ? उनी बिहान ११ बजे कार्यालय पुगेका थिए । झन्डै चार घण्टा त लाइन लागेर पासपोर्ट बुझाए । ‘अझै काम भएको छैन’, उनले भने ।
पहिलो पटक विदेश जान श्रम स्वीकृति लिनेदेखि नवीकरण गर्न आउनेको भीड थेगिनसक्नु थियो । अधिकांश नेपाली कामदार दसैंको समयमा स्वदेश आएर छठपछि फर्किने भएकाले श्रम स्वीकृति लिन भीड लाग्ने गरेको कर्मचारीले बताए ।
धनुषाका एक युवकले बुधबारदेखि कार्यालय धाइरहेको बताए । ‘चार दिन भयो, कामै भएको छैन’, २९ वर्षे ती युवकले भने, ‘कहिले के पुगेन भन्छन्, कहिले के, दुःख दिने काम मात्र भयो ।’ आफूसँग भएको १० हजार रुपैयाँ पनि सकिएको उनले सुनाए । काम नभए सडकमै सुत्नुपर्ने अवस्था आउने उनको भनाइ थियो । यो समाचार आजको अन्नपूण पोष्ट्मा प्रकाशित छ ।