यी हुन् गैरकानुनी रुपमा सञ्चालित ९ मेडिकल कलेज
काठमाडाैँ,त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयबाट सम्बन्धनप्राप्त नौ मेडिकल कलेज शिक्षण अस्पताल गैरकानुनी रूपमा सञ्चालनमा छन् । यी कलेजले वातावरणीय प्रभाव मूल्यांकन र भूकम्पप्रतिरोधी भवन प्रमाणीकरण आचारसंहिता पूरा नगरेका हुन् ।
युनिभर्सल कलेज अफ मेडिकल साइन्स, नेसनल मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्स, काठमाडौं मेडिकल कलेज र नेपालगन्ज मेडिकल कलेज स्वास्थ्य मन्त्रालयको स्वीकृतिविना सञ्चालनमा छन् । त्यस्तै, चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)अन्तर्गतको त्रिवि शिक्षण अस्पताल (महाराजगन्ज), नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान, जानकी मेडिकल कलेज र मणिपाल कलेज अफ मेडिकल साइन्स पनि स्वीकृतिविना सञ्चालनमा छन् ।
सरकारले १२ वैशाख ०७२ को भूकम्पपछि आचारसंहिता लागू गरेको थियो । १९ पुस ०७३ को मन्त्रिपरिषद् बैठकले अनुमति नलिई सञ्चालनमा रहेका स्वास्थ्य संस्थालाई सोही वर्ष फागुन मसान्तसम्म स्वीकृति लिन समय दिएको थियो । कलेजहरूले स्वीकृतिका लागि निवेदन दिए पनि भूकम्पमा क्षतिपुगेका भवनहरूमा अस्पताल सञ्चालन गर्ने अवस्था नरहेको तथा उनीहरूले मापदण्ड पूरा नगरेकाले अनुमति दिन नसकिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तर, गैरकानुनी रूपमा सञ्चालनमा रहेका अस्पताल बन्द नै गर्न सक्ने अवस्था पनि नभएको मन्त्रालयले जनाएको छ ।
‘मापदण्ड पूरा नगरेका कारण नौ मेडिकल कलेज शिक्षण अस्पतालले सञ्चालन स्वीकृति पाएका छैनन्,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा. विकास देवकोटाले भने, ‘तर, अहिले सञ्चालनमा रहेका भवनलाई ओके गर्न सक्ने अवस्था छैन, बन्द गर्न पनि सकिँदैन ।’
निर्देशिका जारी हुनुअघि सञ्चालन भएका अस्पताल र मेडिकल कलेजले पनि निर्देशिकाअनुसार पूर्वाधार तयार गर्नुपर्ने हुन्छ । मन्त्रालयले एकपटकमा १ देखि ५ वर्षसम्म सञ्चालन स्वीकृति दिन सक्छ । त्यसपछि नवीकरण नगराई गैरकानुनी रूपमा शिक्षण अस्पताल सञ्चालन गरे सम्बन्धन खारेज हुने नियम छ । मन्त्रालय स्रोतका अनुसार स्वीकृति नै नलिई सञ्चालनमा रहनेमा काठमाडौं विश्वविद्यालयको धुलिखेल अस्पताल पनि छ ।
निर्देशिकाअनुसार नोबेल मेडिकल कलेज र गण्डकी मेडिकल कलेजले केही समयअघि जरिवाना तिरेर नवीकरण गरेका छन् । त्यस्तै, चितवन मेडिकल कलेज, नेपाल मेडिकल कलेज, विराट मेडिकल कलेज, लुम्बिनी मेडिकल कलेज, देवदह मेडिकल कलेज र किस्ट मेडिकल कलेजले पनि केही समयअघि सञ्चालन स्वीकृति पाएका छन् ।
नवीकरण नभएका अस्पताल
१. नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान
२. जानकी मेडिकल कलेज
३. युनिभर्सल कलेज अफ मेडिकल साइन्स
४. नेसनल मेडिकल कलेज
५. मणिपाल कलेज अफ मेडिकल साइन्स
६. कलेज अफ मेडिकल साइन्स
७. नेपालगन्ज मेडिकल कलेज
८. काठमाडौं मेडिकल कलेज
९. चिकित्साशास्त्र अध्ययन सस्थान आईओएम शिक्षण अस्पताल महाराजगञ्ज
नवीकरण भएका अस्पताल
चितवन मेडिकल कलेज, गण्डकी मेडिकल कलेज, नेपाल मेडिकल कलेज, नोबेल मेडिकल कलेज, विराट मेडिकल कलेज, लुम्बिनी मेडिकल कलेज, देवदह मेडिकल कलेज र किस्ट मेडिकल कलेज । नयाँ पत्रिकामा खबर छ ।