मन्त्रिमण्डल पुनर्गठन भोलि, बिदा हुँदै ५ मन्त्री र २ राज्यमन्त्री

काठमाडाैँ, प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार मन्त्रिमण्डल हेरफेर हुन सक्ने बताएका छन् । मंगलवार साँझ बसेको मन्त्रिपरिषद बैठकमा बुधवार मन्त्रिमण्डल हेरफेर हुन सक्ने भएकाले मन्त्रीहरूलाई औपचारिक कार्यक्रममा कतै नजान आग्रह गरेका हुन् ।

‘भोलि मन्त्रिमण्डल पुनर्गठन हुन सक्ने सम्भावना छ,’ प्रधानमन्त्री ओलीको भनाई उदृत गर्दै एक मन्त्रीले भने, ‘को को बाहिरिनु हुन्छ, को को रहनुहुन्छ अहिल्यै म भन्दिन । यसलाई अन्यथा नलिनुहोला ।’

विश्वस्त स्रोतका अनुसार बुधवार प्रधानमन्त्रीले महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापामगर, आपूर्तिमन्त्री मातृका यादव, संघीय मामिलामन्त्री लालबाबु पण्डित, कृषिमन्त्री चक्रपाणी खनाल र श्रममन्त्री गोकर्ण बिष्टलाई मन्त्रिपरिषदबाट बिदाई गर्नेछन् ।

बिदाई हुनेमा दुई राज्यमन्त्री पनि छन् । पर्यटन राज्यमन्त्री धनबहादुर बुढा र कृषि राज्यमन्त्री रामकुमारी चौधरीलाई पनि प्रधानमन्त्री ओलीले बिदाई गर्नेछन् । बिदाई हुने मन्त्रीहरूको जिम्मेवारीमा आउने नयाँ मन्त्रीहरूको नाम तयार भइसकेको छ तर त्यसलाई गोप्य राखिएको छ ।

बुधवार बिहान नेकपाको सचिवालय बैठक पनि बोलाइएको छ । प्रधानमन्त्री ओलीले सचिवालयमा मन्त्रिमण्डल पुनर्गठनको औपचारिक प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको स्रोतको दाबी छ ।