अमलेखगञ्जबाट विराटनगर हिडेको ट्यांकर लहानबाट ‘गायब’

काठमाडाैँ, अमलेखगञ्ज डिपोबाट विराटनगर गइरहेको नेपाल आयल निगमको डिजेल बोकेको ट्यांकर सिरहाको लहानबाट ‘गायब’ भएको छ। निगमको इन्धन डिपो अमलेखगञ्जबाट मंसिर १ गते २० हजार डिजेल लोड ना४ख ४१६३ नम्बरको ट्यांकर लहानबाट सोमबार राति ११ गायब भएको प्रहरीले जनाएको छ।

चालकसहित गायब पारिएको उक्त ट्यांकर सम्पर्कविहीन छ। लहान पुगेपछि सो ट्यांकरलाई एक समूहले रोकेर गायब पारेको लहानका प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले बताए।

‘ट्यांकर हालसम्म फेला परेको छैन, खोजी तीव्र पारिएको छ,’ बोहराले भने। अज्ञात समूहले सो ट्यांकर अपरहण गरेको आशंका गरिएको बोहराले बताए। ट्यांकरमा चालकसहित कतिजना थिए यकिन भइसकेको छैन। इलाका प्रहरी कार्यालय लहानबाट प्रहरी नायब उपरीक्षक भेषराज रिजालसहितको प्रहरी टोली ट्यांकरको खोजीमा रहेको बोहराले बताए।

नेपाल आयल निगमले डिजेल लोड भएको ट्याङ्कर हराएको सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरेको छ। निगमले प्रदेश नं १ का प्रमुख इञ्जिनियर अशोक साहको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको हो। समितिलाई सात दिनभित्र सत्यतथ्य पत्ता लगाएर प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ।