प्रधानमन्त्रीले मिर्गौला पीडितलाई भेटन नमानेको भन्दै बालुवाटारमा प्रदर्शन

काठमाडौं ,मिर्गौलापीडितहरुले आफुहरुलाई उपलब्ध गराउदै आएको सबै सहयोग पुर्ववत् ढंगले उपलब्ध गराउन माग गर्दै प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा प्रर्दशन गरेका छन् । मिर्गौलापीडित सरोकार समाजको नेतृत्वमा सोमबार बालुवाटार पुगेका पीडितहरुले जीविकोपार्जन वापतको मासिक भत्ता र डायलासिसमा दिँदै आएको सुविधा यथावत राख्न माग गरेका हुन्।

१४ बुँदे ज्ञापनपत्र लिएर बालुवाटार पुगेका पीडीतहरु प्रधानमन्त्रीसँग भेट्न नपाएपछि रुष्ट बनेका थिए। प्रधानमन्त्री स्वयम् मिर्गौलापीडित भएर पनि आफुहरुको समस्या नबुझेको भन्दै उनीहरुले आन्दोलन गर्ने चेतावनी नै दिए। प्रधानमन्त्रीले भेट्ने समय नदिएको भन्दै मिर्गौला पीडितहरुले आन्दोलनको घोषणा गरेका हुन्।

आफुले निजी अस्पतालमा उपचार गराएर राज्यको ढुकुटी सकेको तर पीडितका लागि सामान्य सुविधा पनि कटौती गरेको भन्दै उनीहरुले प्रधानमन्त्रीप्रति आक्रोश पोखेका मिर्गौला पीडित सरोकार समाजका अध्यक्ष बलराम सुवेदीले बताए। पीडितहरुले जीविकोपार्जन वापतको मासिक भत्ता ५ हजार उपलब्ध गराउनुपर्ने , निशुस्ल्क हेमोडायलाइसिस, विरामी कुरुवाको उचित बसोबासको व्यवस्था, डायलाइसिस सुविधाको रकम तत्काल उपलब्ध गराउनुपर्ने लगायत १४ बुँदे माग गरेका छन् ।

माग सम्बोधन नभए जस्तोसुकै आन्दोलन गर्न तयार रहेको रोल्पाका मिर्गौला पीडित दिलाराम ओलीले बताए। प्रधानमन्त्रीसँग भेट गर्न नपाएपछि पीडितहरु बालुवाटारबाट नाराबाजी गर्दै माइतीघरमण्डलसम्म आएका थिए। उनीहरुले मण्डलमा पनि केही समय प्रर्दशन गरेका थिए।