हट्यो सिक्टाको पूर्वी नहर निर्माणमा देखिएको अवरोध

काेहलपुर,बाँके गौरवको आयोजना सिक्टा सिँचाइको पुर्वी नहर खण्डको निर्माण कार्यका बिषयमा टुंगो लागेको छ । सिक्टाको पुर्वी खण्ड बिस्तारकालागि नरैनापुर क्षेत्र अन्तर्गत कहाँबाट नहर बिस्तार गर्ने भन्ने विषयमा विवाद हुँदा निर्माण कार्य प्रभावित हुँदै आएको थियो । लामो समयदेखी विवादित हुँदै आएको उक्त क्षेत्रमा पुर्व निर्धारित योजना मुताविक नहर निर्माण गर्ने सहमती भएको हो ।

आईतबार बाँके क्षेत्र नं. १ का सँघिय साँसद महेश्वर गहतराज अथक र प्रदेश सभा सदस्य कृष्णा केसी नमुनाको रोहबरमा नरैनापुर गाँउपालिका अध्यक्ष इस्तियाक अहमद शाहाको अध्यक्षतामा बसेको बैठकले नरैनापुर क्षेत्रमा सिक्टाको नहर निर्माण कार्यलाई निरन्तरता दिने निर्णय गरेको हो । नहर निर्माणका क्रममा कुनै समस्या उत्पन्न भएमा नरैनापुर गाँउपालिका अध्यक्ष सहित प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यले सहजिकरण गर्ने सहमती भएपछि पूर्वी नहर निर्माणको बाटो खुलेको हो ।

साथै बैठकमा सिक्टा सिचार्इ नहर निर्माण कार्यसँगै पानी पनि छोड्दै जाने सहमति भएको सिक्टा सिचाइ आयोजना प्रमुख कृष्ण नेपालले जानकारी दिए । नहर बिस्तार कार्यमा जनताको जमिन क्षति भएमा चलन चल्तीकै दरमा आयोजनाले मुआब्जा दीने सहमति समेत भएको छ ।

राप्तिपारी पुर्वी नहर निर्माण कार्य सम्पन्न भएमा राप्तिपारी नरैनापुर क्षेत्रको ९ हजार हेक्टर जमिनमा सिँचाइ सुबिधा पुग्ने आयोजनाले जनाएको छ । नहर निर्माणकालागि सहमती जुटेपछि केही दिनभित्रै इन्जिनियरको टोलीले उक्त क्षेत्रको सर्बे गर्ने आयोजनाले जनाएको छ ।