सडकको स्तरोन्नतीमा बेवास्ता गर्ने ठेकेदारको फोटो टाँस्ने क्रम आज पनि जारी
रामेछाप, खाडीचौर–मुडे – चरिकोट सडक अन्तर्गत मुडे–चरिकोट सडकखण्डको स्तरोन्नतीमा बेवास्ता नगरेको भन्दै ठेकेदारको फोटो सार्वजनिक सवारी साधनमा टाँस्ने क्रम आज पनि जारी छ । सडक निर्माण गर्ने जिम्मा लिएका निर्माण व्यवसायीको फोटो विरोध स्वरुप हिजोबाट सार्वजनिक सवारी साधनमा टाँसीएको हो ।
दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का लिएको ठेकेदार कम्पनीले चार वर्ष बितिसक्दा पनि कालोपत्रे नगरेको भन्दै ठेकेदारलाई नैतिक दबाव दिन जिल्लावासीले सातदोेबाटो चोक, सार्वजनिक तथा निजी सवारी साधनमा काम नगर्ने ठेकेदारको फोटो टाँसेका छन् । काम नगर्ने ठेकेदारलाई सबैले चिनुन् र थप नैतिक दबाव परेर सडक निर्माणमा चासो पुगोसभन्ने उद्देश्यका साथ स्थानीयवासी आफैले स्वस्फूर्त रकम संकलन गरी फोटो प्रिन्ट गरेका हुन् ।
शंकरमाली निर्माण सेवाका प्रोप्राइटर दिपक सापकोटाको फोटोसहितको ब्यानरमा ‘कालोपत्रे सहितको बाटो कहिले बन्छ ? चार वर्षसम्म बाटो किन बनेन ?’ भनेर प्रश्न गरिएको छ ।दोलखाका पत्रकार, नागरिक समाज, उद्योग वाणिज्य संघ, क्षेत्रीय होटल व्यवसायी संघ, पर्यटन व्यवसायी, फेन्सी संघ, इलेक्ट्रिक संघ लगायतका संघले अरनिको यातायात, रोल्वालिङ यातायात तथा निजी सवारी साधनमा विरोध स्वरुप फोटो टाँसेका हुन्। ठेकेदार सापकोटाले मुडे–चरिकोट सडकखण्डको ३० किलोमिटर सडक दुई लेनको कालोपत्रेसहित दुई वर्षमा सक्ने गरी २०७२ भदौमा सम्झौता गरेका थिए। सम्झौता अवधि नाघेर थप गरिएको म्याद नाघेको पनि डेढ वर्ष भएको छ ।
यस अघि थपेको म्यादमासमेत सडकको निर्माण कार्यले उल्लेख्य प्रगति गर्न नसकेपछि सडक डिभिजन कार्यालय चरिकोटले मुडे–चरिकोट सडकखण्डको ठेकेदार सकिल हेदर–शंकरमाली–सुनौला खिम्ति जेभीलाई दैनिक करिब चार लाखको दरले हर्जना तोकेको थियो।
३ जिल्लाका यात्रुले प्रयोग गर्ने खाडीचौर–चरिकोट सडकको विभिन्न खण्डमा ठूला–ठूला खाल्डा तथा धुलाम्मे हुँदा दैनिक हजारौं यात्रु र सडक आसपासका स्थानीयले सास्ती भोग्नु परेको छ ।भारतीय एक्जिम बैंकको करिब एक अर्ब २४ करोड ऋण सहयोगमा सिन्धुपाल्चोक जिल्लाको खाडीचौरदेखि चरिकोटसम्मको ५५ किलोमिटर सडक विस्तार आयोजनाले ढल तथा नालाको व्यवस्थापन नगरेकै कारण यात्रु तथा ढुवानीका साधनहरुलेसास्ती खेप्नु परेको छ। जीर्ण सडककै कारण दोलखाको पर्यटन व्यवसाय ठप्प बनेको छ।