भारतले मिचेको कालापानी क्षेत्र फिर्ता हुन्छ – प्रधानमन्त्री ओली
काठमाडौँ,प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले मिचेको कालापानी क्षेत्रको नेपाली भूमि फिर्ता गरेरै छाड्ने बताएका छन् । आइतबार राष्ट्रिय युवा संघ नेपालको राष्ट्रिय एकता भेलालाई काठमाडौँमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भारतले मिचेको नेपाली भूमि फिर्ता गरेर नेपाली भूमिको रक्षा गर्न सरकार प्रतिवद्ध रहेको बताएका हुन् ।
सम्बोधनका क्रममा प्रधानमन्त्रीले नेपाली भूमिबाट विदेशी सेना फिर्ता पाठाउनुपर्ने भन्दै सरकारले त्यसका लागि आवश्यक गृहकार्य समेत थालिसकेको बताए । उनले नेपालको नक्सा फेर्नुपर्छ भनेर आएका मतहरुलाई अस्वीकार गरे । ‘कतिपयले नक्सा फेर्नुपर्छ भनेका छन् । तर नक्सा फेरेर केही हुँदैन । मिचिएको भूमि फिर्ता गर्नुपर्छ’, उनको भनाइ छ ।
भारतले पछिल्लो समय नपाली भूमि कालापानीको लिम्पयाधुरा, लिपुलेक समेतलाई आफ्नो नक्साभित्र पारेर नयाँ नक्सा सार्वजनिक गरेपछि प्रधानमन्त्रीले पहिलोपटक यसवारे मुख खोलेका हुन् । यसअघि नेपालमा भारतीय कदमको चर्को विरोध हुँदै आएको थियो ।