सात लाख नगद र ६ किलो चाँदीसहित एकजना पक्राउ

जनकपुरधाम, चाँदीका गरगहना र नगद सात लाखभन्दा बढी रुपैयाँसहित एक युवकलाई धनुषा ससस्त्र प्रहरीले शनिबार दिउँसो पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिरहाका अजय गुप्ता रहेका छन्।

जनकपुरधाम उपमहानगरपालिका २५ लोहनामा चेकचाँजका क्रममा ६ किलो चाँदीका गरगहना र ७ लाख ३० हजार १ सय रुपैयाँसहित गुप्तालाई पक्राउ गरिएको धनुषाका सशस्त्र एसपी राजेश उप्रेतीले जानकारी दिए।

उनका अनुसार गुप्ता जिउमा कपडा बेरेर नगद र चाँदी लुकाएका थिए। पक्राउ परेका गुप्तालाई बरामद रुपैयाँ र चाँदीसहित आवश्यक कार्वाहीको लागि जनकपुर भन्सार कार्यालयलाई बुझाउने तयारी गरिएको एसपी उप्रेतीले बताए।