आलम आतंक : जेल पठाउने आदेश दिनासाथ न्यायाधीश र सरकारी वकिलले छाडे जिल्ला

काठमाडाैँ, आफैले बनाउन लगाएको बम विस्फोट हुँदा घाइते भएका युवाहरूलाई जिउँदै इँटाभट्टामा हाल्ने मोहम्मद अफ्ताब आलमको आतंक कुन हदसम्म छ ? १२ वर्षपछि उनलाई जेल पठाउने न्यायाधीशको मनस्थितिले पनि यो बयान गर्छ । पुर्पक्षका लागि आलमलाई जेल पठाउने न्यायाधीश दीपक ढकालले रौतहटबाट आफूलाई तत्काल सरुवा गर्न न्यायपरिषद्लाई आग्रह गरेका छन् ।

आदेश दिएलगत्तै शुक्रबार साँझ नै उनले जिल्ला छाडेका छन् । आलमविरुद्ध बहस गर्ने जिल्ला न्यायाधिवक्ता (सरकारी वकिल) फणीन्द्रराज कटवाल पनि सरुवाको माग गर्दै शुक्रबार नै रौतहटबाट हिँडेका छन् ।

अदालतमा बहस चल्दै गर्दा जाहेरवाला र साक्षीलाई धम्की दिने, बन्धक बनाउने र बयान फेर्न लगाउने आलमले न्यायाधिवक्ता र न्यायाधीशलाई समेत विभिन्न माध्यमबाट त्रासमा पारेका थिए । अदालत स्रोतका अनुसार असुरक्षित महसुस गरेर नै उनीहरूले जिल्ला छाडेका हुन् ।

‘उहाँहरू अहिले बिदामा काठमाडौं जानुभएको छ,’ अदालतका एक अधिकारीले भने, ‘आदेश दिएपछि यहाँ बस्ने परिवेश छैन ।’ आफ्नै चुनाव प्रचारमा जुटेका र आलमका लागि बनिरहेको बम विस्फोट हुँदा घाइते भएकालाई इँटाभट्टामा जलाउने व्यक्तिले जे पनि गर्न सक्ने भन्दै उनीहरूले सरुवा मागेको महान्यायाधिवक्ता कार्यालयका एक अधिकारीले बताए ।

मुद्दा नचलाउन न्यायाधिवक्ता कटवालमाथि र आलमलाई साधारण तारेखमा छाड्न न्यायाधीश ढकालमाथि दबाब परेको थियो । आलमको पक्षमा आदेश नआए जेसुकै हुन सक्ने सन्देश पनि उनीहरूले पठाएका थिए । आलमले भारतबाट भाडाका अपराधीसमेत जिल्लामा खटाएको सूचनापछि ढकाल र कटवालले हतारहतार जिल्ला छाडेका हुन् । स्रोतका अनुसार उनीहरूको सरुवाबारे छलफल अघि बढिसकेको छ ।

आलमलाई जिल्लामा राख्नसमेत जोखिम भएकाले नख्खु कारागार चलान गरिएको छ । उनलाई शुक्रबार राति नै ललितपुरतर्फ हिँडाइएको छ । गृह मन्त्रालयको आदेशमा उनलाई नख्खु पठाइएको हो । सुरक्षाको दृष्टिकोणले उनलाई त्यहाँ राख्नु उपयुक्त नभएमा अन्य कारागारमा स्थानान्तरण गर्न सकिने व्यहोरा अदालतको आदेशमा उल्लेख छ ।

यहीबीचमा रौतहटको ईशनाथ नगरपालिका–४ स्थित मठिया प्रहरी चौकीमा गत मंगलबार दिउँसो बम प्रहार पनि भएको थियो । ड्युटीमा रहेका प्रहरी जवानलाई लक्षित गरी सुतली बम प्रहार गरेको आरोपमा भारतीय नागरिक २५ वर्षीय चन्दन कुमारलाई प्रहरीले पक्राउ गरेको छ । बिआर ०५ एच ६५०९ नम्बरको मोटरसाइकलमा आएका दुईजना व्यक्तिले बम प्रहार गरी भागेका थिए ।

प्रहरीले पिछा गरेर मोटरसाइकलचालक कुमारलाई पक्राउ गरे पनि पछाडि बसेर बम फाल्ने व्यक्ति पक्राउ परेका छैनन् । राज्य संयन्त्रलाई नै आतंकित बनाउने योजनाका साथ आलमकै योजनामा प्रहरी चौकीमा बम प्रहार भएको हुन सक्ने प्रहरीको अनुमान छ । नयाँ पत्रिकामा खबर छ ।