तरुण दलको बाँके बन्दः यस्तो देखिन्थ्यो नेपालगन्जमा प्रभाव (तस्विर सहित)

नेपालगञ्ज । नेपाली काँग्रेसकाे भातृ संगठन तरूण दलले गरेकाे बन्दले बिहानैदेखि बाँकेमा प्रभाव परेको छ । तरुण दल बाँकेले घोषणा गरेको प्रभाव बिहानैदेखि देखिएको हो ।

सडकमा सार्वजनिक सवारी साधनहरु गुडेका छैनन् भने उद्योग, कलकारखाना, शिक्षण संस्थाहरु बन्द छन् । प्रहरीले आफ्नो नेता कार्यकर्तालाई पक्राउ गरेको भन्दै तरुण दल बाँकेले जिल्ला बन्दको घोषणा गरेको हो । बिहानै कलेज हिडेका विद्यार्थीहरु घर फर्किएका छन् । सडकमा केही मात्रामा मोटरसाइकल चलेपनी अन्य यातायातका साधन भने चल्न सकेका छैनन् ।

तरूण दलका केही नगरस्तरीय नेता मानिने ठेकेदार र कार्यकर्तालाई हतियारसहित पक्राउ गरेकाे बिराेधमा तरूण दलले बन्द गरेकाे हाे । नेपालगन्ज नगर सभापतिका रूपमा जिम्मेवारी पाएका ठेकेदार सन्दीपजङ्ग शाहसहितका ६ जनालाई कोहलपुर प्रहरीले गनापुरबाट अमेरिकन पेस्तोलसहित पक्राउ गरेको थियाे  । 

सुरक्षा व्यवस्था कडा

बाँकेको सुरक्षा व्यवस्था कडा पारिएको छ । आज नेपाल तरुण दल बाँकेले जिल्ला बन्दको घोषणा गरेपछि बिहानैदेखि जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको हो । शहरदेखि गाउँसम्म ठूलो सख्ङ्यामा सुरक्षाकर्मीहरु परिचालन भएका छन् । नेपालगञ्ज, कोहलपुर, खजुरा, राप्तीपारी लगायतका स्थानहरुमा बिहानैदेखि नेपाल प्रहरी र शसस्त्र प्रहरी परिचालन गरिएको छ ।

बन्दको क्रममा कुनै अप्रिय घटना घट्न नदिनको लागि सुरक्षा व्यवस्था बलियो पारिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । सडक तथा राजमार्गहरुमा ठूलो मात्रामा नेपाल प्रहरी र शसस्त्र प्रहरी हातहतियारसहित खटिएका छन् । सुचना संकलनको लागि समेत जिल्लाभर धेरै सख्ङ्यामा सादा पोशाकमा प्रहरी परिचालन गरिएको बताइएको छ ।

बन्दको क्रममा कुनै अप्रिय घटना घट्न नदिनको लागि प्रहरी सुरक्षा व्यवस्था बलियो पारेको छ । बन्द साँझ ५ बजेसम्म जारी रहने तरुण दल बाँकेले जनाएको छ ।