युवालाई रोजगारी दिन गाउँपालिकाले ल्यायो यस्ता योजना

जाजरकाेट,स्थानीय युवालाई राजगारी दिन कुशे गाउँपालिकाले सडक स्तर उन्नतीका कामलाई अगाडी बढाएको छ । युवाहरुलाई रोजगारी दिएर गाउँपालिका भित्रको गरिबी न्युनीकरण गर्न गाउँपालिकाले सडक स्तर उन्नतीका कामलाई अगाडी बढाएको हो ।

गत दुई बर्षको समयमा ८ करोड बजेटबाट १ सय ४२ किलोमिटर मोटरबाटो खन्न सफल भएको कुशे गाउँपालिकाले यसबर्ष देखि मेसिनरी वाल लगाउने, ग्याविन जाली भर्ने, सडकका नाली बनाउने, गर्याविल गर्ने लगाएतका सडक स्तर उन्नतीका कामलाई अगाडी बढाई रहेको गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले जानकारी दिए ।

गाउँपालिकाद्धारा सुरु गरिएको सडक स्तर उन्नतीका कामले बेरोजगारी समस्यालाई झेली रहेका स्थानीय युवाहरुलाई रोजगारी सृजना गर्नुको साथै रोजगारीका लागि भारतको कलापहाड लगाएतका खाडी मुलुकमा जानुपर्ने बाध्यतालाई न्युनिकरण गर्ने अध्यक्ष बस्नेतले बताए । गत असार १० गते सम्मपन्न छैटौं गाउँसभा तथा तेस्रो बजेट सभाबाट “गरीबसंग–गाउँ सरकार” को नीति तथा कार्यक्रम पास गरेको कुशे गाउँपालिकाले सडक स्तर उन्नतीका क्षेत्रमा यसबर्ष ४० लाख बजेट बिनियोजन गरेको अध्यक्ष बस्नेतले जानकारी दिए ।

उक्त बजेट सभाबाटै १८ लाखको दरले १४ वटा विद्यालय भवन निर्माणका लागि २ करोड ५२ लाख बजेट बिनियोजन भएको पनि अध्यक्ष बस्नेतले जानकारी दिए । सडक स्तर उन्नती र विद्यालय भवन निर्माणको कामले गाउँपालिका भित्रका तमाम बेरोजगार युवाहरुलाई रोजगारी सृजना गर्नेमा अध्यक्ष बस्नेतले बिश्वास व्यक्त गरे । एक करोड भन्दा कम रकममा सडकको ट्रयाक खोल्ने काममा प्राविधिकको सल्लाह बीना डोजर (ईक्यावेटर) प्रयोग गर्न नपाईने नीतिगत निर्णय भईसकेको पनि अध्यक्ष बस्नेतले जानकारी दिए ।

सडक स्तरउन्नतीको पहिलो कामका रुपमा पाँचकाटिया–खुर्पा सडक खण्ड अन्तरगत बिच–बिचमा गर्याविल गर्ने काम भईरहेको अध्यक्ष बस्नेतले बताए । उक्त काममा गाउँका युवाहरुले रोजगारी पाएको अध्यक्ष बस्नेतले दावी गरेका छन् । पाँचकाटिया देखि खुर्पासम्मको सडकमा दैनिक सय भन्दा बढी युवाहरुले रोजगारी पाईराखेका छन अध्यक्ष बस्नेतले भने–‘गाउँपालिकाको बजेटबाट दुई बर्षमा ट्रयाक खोलिएको एक सय ४२ किलोमिटर मोटरबाटोको स्तरउन्नतीको कामले गाउँपालिकाका हजारौ युवाहरुलाई रोजगारी दिने सोचमा छौं ।’