चोरीका स्कुटर किन्ने कार्यमा संलग्न चारजना पक्राउ
धादिङ, स्कुटर चोरी गर्ने तथा चोरीका स्कुटर किन्ने कार्यमा संलग्न रहेको अभियोगमा धुनिबेशी नगरपालिका ५ बाट बिहीबार जिल्ला प्रहरी कार्यालय धादिङले ४ जनालाई पक्राउ गरी शुक्रबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका १२ बस्ने रोहन महर्जन, काठमाडौं महानगरपालिका १२ टेकु बस्ने जुम्ला आचार्यबाडा गाउँपालिका १५ का २१ वर्षीय रमेश शाही, काठमाडौं महानगरपालिका १४ खसीबजार बस्ने सबिन शाक्य र धादिङ धुनिबेशी नगरपालिका ५ पुरन्डी बस्ने ४० वर्षीय कुमार रेग्मी रहेका छन्।
धादिङ धुनिबेशी नगरपालिका ५ पुरन्डीमा चोरीका स्कुटर बेचबिखन भइरहेको भन्ने गोप्य सूचना प्राप्त हुनासाथ तत्काल इलाका प्रहरी कार्यालय खानीखोलाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो। उनीहरूको साथमा रहेका बा ६७ प ५८८९ र बा ५५ प २०८४ नम्बरका स्कुटरहरू चोरी गरी ल्याएको खुल्न आएको छ।
अन्य स्कुटरहरू कुमार रेग्मीलाई बिक्री गरिसकेको खुल्न आएपछि थप अनुसन्धानका क्रममा कुमारको घरबाट बा ५१ प ९१०६ र बा।८२ प ६०७१ नम्बरका स्कुटरहरू समेत प्रहरीले फेला पारी बरामद गरेको छ। उनीहरूलाई चोरी मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ