बंगलादेशका राष्ट्रपति र नेकपा अध्यक्ष प्रचण्डबीच भेटवार्ता

काठमाडौँ । नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ।

बुधबार बिहान अध्यक्ष प्रचण्ड राष्ट्रपति हमिद बसेको होटल म्यारियटमै पुगेर भेटवार्ता गरेका हुन्। भेटको अवसरमा दुई देशको आपसी हितका विषयमा कुरा भएको प्रचण्डको सचिवालयले जनाएको छ।

बुधबार नै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति हमिदसँग भेटवार्ता गरेका थिए। यस्तै राष्ट्रपति भण्डारी र हमिदबीच दिउँसो ४ः३० बजेदेखि ५ः०० बजेसम्म भेटवार्ता तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ। भेट आपसी हितका विषयमा केन्द्रीत हुने बताइएको छ।

हमिदको स्वागतमा राष्ट्रपति भण्डारीले आजै साँझ रात्रिभोजकोसमेत आयोजना गरेकी छन्। रात्रिभोजअघि उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, काँग्रेस सभापति शेरबहादुर देउवा लगायतसँग हमिदले शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ। त्यस्तै राष्ट्रपति हमिद र प्रधानमन्त्री केपी शर्मा ओलीबीच दिउँसो २ बजे बालुवाटारमा भेटवार्ता तय भएको छ।