यसकारण सीमा क्षेत्रमा बढाइयो सुरक्षा सतर्कता

काठमाडाैँ, भारतमा लामो समयदेखि चल्दै आएको रामजन्मभूमि तथा बाबरी मस्जिद सम्बन्धी विवादमा सर्वोच्च अदालतको अन्तिम फैसला दिने तयारी गरिहेको समयमा नेपाल-भारत सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ।

भारतीय पक्षले नेपालसँग सुरक्षा सतर्कता बढाउन अनौचारिक रुपमा आग्रह गरेपछि सिमा नाकाहररूमा आवागमनमा कडाई गरिएको हो।

‘रामजन्मभूमीको विषयमा हुन लागेको फैसला भारतको अन्तरिक विषय हो, त्यसैले औपचारिक होइन अनौपचारिक रुपमा भारतीय पक्षबाट आग्रह आएपछि सीमा क्षेत्रमा कडाई गरिएको छ,’ गृह मन्त्रालयका एक अधिकारीले भने।

सेवा निवृत्त हुन लागेका भारतको सर्वोच्च अदालतका प्रधानन्यायाधीश रञ्जन गोगोईंले आफ्नै कार्याकालभित्र रामजन्मभूमी–बाबरी मस्जिदका विषयमा फैसला गर्ने बताएका छन्। गोगाई मंसिर १ गते सेवा निवृत्त हुँदैछन्।

गोगोईंको नेतृत्वमा रहेको पाँच सदस्यीय संवैधानिक इजलासले साउन २१ गतेदेखि यो विषयमा निरन्तर सुनुवाई गरिरहेको छ। फैसला कात्तिक २९ सम्म आउने अनुमान छ।

भारत स्वतन्त्र भएदेखि नै उत्तर प्रदेशको अयोध्यामा विवाद रहँदै आएको छ। सत्तारुढ भारतीय जनता पार्टीसहित हिन्दु राष्ट्रवादी शक्तिहरुले बाबरी मस्जिद रहेको स्थान रामजन्मभूमी भएको भन्दै त्यहाँ मन्दिर बनाउन खोजेका छन्।

सन् १९९२ डिसेम्बर ६ मा भारतभरबाट भेला भएका भाजपा र हिन्दु संगठनका समर्थकहरूले बाबरी मस्जिद भत्काएका थिए। त्यसपछि भारतभर हिन्दु मुसलमान दंगा भएको थियो। त्यो साम्प्रदायिक दंगामा करिब २ हजार मानिसको मृत्यु भएको थियो।

भारतीय सञ्चार माध्यमहरूले नेपाल सँगको सीमा क्षेत्रमा भारतीय सीमा सुरक्षा बल र प्रहरीको गस्ती बढाइएको उल्लेख गरेका छन्।

भारत सरकारले इन्टेलिजेन्स ब्यूरो (आइबी) बाट सूचना पाएपछि नेपाल–भारत सिमा क्षेत्रमा सुरक्षा सतर्कता बृद्धि गरिएको जनाएको छ। नेपाल–भारतबीच साढे १७ सय लामो खुला सिमा रहेको छ।

खुला सिमाको फाइदा अपराधी तथा आतंकवादीहरूले उठाउँदै आएको विषयले दुई देशबीच बेलाबेला तनाव उत्पन्न हुने गरेपनि सिमा नियमनका लागि खासै कदम चालिएको छैन।