जब ‘गो ब्याक इन्डिया’भन्दै युवाहरुको जमात सडकमा उर्लियो
काठमाडौँ,भारतले आफ्नो देशको नक्सामा नेपाली भूमि समेतलाई समेटेपछि नेपालमा चर्को विरोध सुरू भएको छ। भारतले हेपाहा प्रवृत्ति देखाएको भन्दै विभिन्न राजनीतिक दलका नेतादेखि सर्वसाधारणसम्मले विभिन्न माध्यमबाट चर्को विरोध गर्दै आइरहेका छन् ।
यही क्रममा बुधबार सत्तारुढ तथा विपक्षी दलसम्बद्ध विद्यार्थी संगठनले भारतविरोधी प्रदर्शन गरेका छन् । उनीहरुले ‘गो ब्याक इन्डिया’ को नारा लगाउँदै नेपाली भूमि अतिक्रमण प्रयासको चर्को विरोध गरे । राजधानीको भृकुटीमण्डपमा भेला भएका विद्यार्थी संगठनले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूभाग नेपालको भएको भन्दै तत्काल नक्सा सच्याउन माग गरे ।
भारतको अघोषित नाकाबन्दीको समयमा नेपालमा ‘गो ब्याक इन्डिया’ नारा लाग्ने गर्थे । सोही बेलालाई सम्झाउने गरी अहिले पनि भारतको विरोधमा चर्को नाराबाजी भएको हो । ३७२ वर्ग किलोमिटर अतिक्रमित नेपाली भूभागलाई औपचारिक रूपमा आफ्नो नक्साभित्र पारेर भारतले आफ्नो हेपाहा र विस्तारवादी नीतिलाई प्रदर्शन गरेको छ । तर भारतको यो हेपाहा नीति सार्वजनिक भएको चार दिन बितिसक्दा पनि नेपाल सरकारले भने आफ्नो औपचारिक धारणा सार्वजनिक गरेको छैन ।
नेपालको दार्चुला जिल्लामा पर्ने लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई भारतले सन् १९६२ देखि सैनिक अतिक्रमण गरेर कब्जा गर्दै आएको छ । यसबीच, काश्मीर र लद्दाखको नयाँ अवस्थितिलाई चित्रित गर्ने क्रममा जारी गरेको नयाँ नक्सामा भारतले औपचारिक रूपमै उक्त अतिक्रमित नेपाली भूमिलाई समेत आफ्नो भूमिका रूपमा चित्रित गर्दै नक्साभित्र राखेर नयाँ नक्सा सार्वजनिक गरेको हो ।