तरुण दल नेता पक्राउ प्रकरणः ‘लक’ गरिएको कार शाहले नै ‘अनलक’ गरेका थिए
नेपालगञ्ज । नेपाल तरुण दल नेपालगञ्ज नगर सभापति सन्दिपजंग शाहको कारबाट नै अवैध हतियार बरामद भएको बाँके प्रहरीले स्पष्ट पारेको छ । बाँकेले प्रहरीले आइतबार पत्रकार सम्मेलन गरेर हतियार स्वयम् प्रहरीले राखेर शाहलाई फसाउन खोजेको भन्ने टिकाटिप्पणी निराधार रहेको स्पष्ट पारेको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रबक्ता प्रहरी नायब उपरीक्षक शिव बहादुर सिंहले हतियार स्वयम् प्रहरीले राखेर शाहलाई फसाउन खोजेको भन्ने टिकाटिप्पणी निराधार रहेको बताए ।
‘रिसोर्टमा राखेको सिसी टिभी फुटेजले घटनाक्रम स्पष्ट पारिसकेको छ’ उनले भने, ‘प्रहरी घटनास्थलमा पुगेको ५ मिनेटमै ‘लक’ गरिएको कार शाहले नै ‘अनलक’ गरेपछि प्रहरीले सबैका अगाडि आफ्नो काम गरेको छ ।’
‘यस घटनासँग जोडेर बाहिर चर्चा गरिएजस्तो केही होइन, सिसी टिभी फुटेजमा सबै कुरा स्पष्ट देखिन्छ’ प्रहरी नायब उपरीक्षक सिंहले भने ।
गनापुरमा रहेको नमस्ते भिलेज रिसोर्टमा गत बिहीबार राति ८.२३ बजे इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीको नेतृत्वको प्रहरी टोलीले जाँच गर्दा नगर सभापति शाहको बा १८ च ४२११ नम्बरको मारुती सुजुकी कारमा ‘लोडेड’ पेस्तोल बरामद भएको थियो ।
शाहसंगै पक्राउ परेका प्रितम थापा, माधव नेपाली र याम बहादुर बुढालाई पनि हिरासतमै राखेर अहिले कोहलपुर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
बाँकेका प्रहरी नायब उपरीक्षक सिंहका अनुसार खानेपानी तथा सरसफाई डिभिजन कार्यालय नेपालगञ्जको टेण्डरलाई प्रभावित पार्न सन्दीपसहितका ६ जना नमस्ते भिलेज रिसोर्टमा खानपिनको साथ छलफल गरिरहेका थिए ।
तरुण दलका नगर सभापति सहितको समुह बा १८ च ४२११ नम्बरको मारुती सुजुकी कारमा बिहीबार साँझ ६ बजेर ३९ सेकेण्डमा रिसोर्टमा पुगेको थियो ।
टेण्डर प्रभावित पार्नको लागि हतियारसहितको समुह रिसोर्टमा छलफलमा पुगेको सुचना पहिला जिल्ला प्रहरी कार्यालय बाँकेले पाएको थियो । तत्काल बाँके प्रहरीको नेत्तृवले इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी शाहीलाई जानकारी दिएर पुग्न निर्देशन थियो ।
सोही अनुसार कोहलपुरबाट डिएसपी शाहीको नेतृत्वमा प्रहरी टोली राति ८ बजे १८ मिनेट ४८ सेकेण्डमा रिसोर्ट भित्र प्रवेश गरेको बाँकेका डिएसपी सिंहले बताए ।
‘प्रहरी टोलि रिसोर्ट भित्र छिर्दा शाहसहितको टोलि खानपिनमा व्यवस्त थियो’ उनले भने,‘करिब पाँच मिनेटभित्रै ८ बजे २३ मिनेट ५८ सेकेण्डमा प्रहरीले शाहलाई कारको लक खोल्न लगाएर चेकजाँच सुरु गरेको हो ।’
‘गाडी जाँच गर्ने क्रममा अघिल्लो सिटमुनी लुकाईराखेको अवस्थामा पेस्तोल र दुई गोली बरामद भएको थियो’ उनले भने । नगर सभापति शाहको कारबाट पेस्तोल बरामद गरिएपछि सार्वजनिक भएको अडियोसंग उक्त घटनाको कुनै ‘कनेक्शन’ नरहेको बाँके प्रहरीले बताएको छ । बाँकेका डिएसपी सिंहले हतियार बरामद गरिएको घटना र त्यसपछि सार्वजनिक भएको अडियोको कुनै ‘कनेक्शन’ नरहेको बताए ।
‘त्यो फरक समय, फरक मिति र फरक सन्दर्भको विषय भएकाले त्यस बारेमा अनुसन्धान गर्न ५ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरिक्षक नरबहादुर केसीको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति गठन भएर काम शुरु भइसकेको छ’ उनले भने ।

