नेपालगन्ज पुगेर प्रचण्डले भने माधव नेपालको ‘नोट अफ डिसेन्ट’ स्वभाविक हो
नेपालगन्ज,बाँके नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ले सचिवालय बैठकमा बरिष्ठ नेता माधवकुमार नेपालले ‘नोट अफ डिसेन्ट’ लेख्नु स्वभाविक भएको बताएका छन्।

पार्टी कार्यक्रममा सहभागी हुन मंगलबार बाँके पुगेका प्रचण्डले सोमबारको सचिवालय बैठकमा नेता नेपालले आफ्ना तर्फबाट प्रदेश प्रमुखका लागि नाम प्रस्ताव गरे पनि नपरेपछि नोट अफ डिसेन्ट लेख्नु स्वभाविक नै भएको बताएका हुन्।
‘माधवजीले एक-दुई जनाको नाम पारौं भन्ने जोड दिनुभएको थियो। बैठकले त्यो निर्णय गरेन। उहाँलाई चित्त नबुझेपछि नोट अफ डिसेन्ट लेख्ने कुरा पनि सामान्य र स्वभाविक प्रक्रिया हो,’ प्रचण्डले नेपालगञ्जमा पत्रकारहरूसँग भने।
नयाँ नियुक्त प्रदेश प्रमुखलाई नेता नेपालले मान्दिनँ नभनेको उल्लेख गर्दै प्रचण्डले थपे, ‘उहाँले म मान्दिनँ भन्नुभएको छैन, मेरो भिन्न मत राख्छु भन्नुभएको छ।’
सोमबारको सचिवालय बैठकमा नेता नेपालले प्रदेश प्रमुख छान्दा एकलौटी निर्णय भएको र मापदण्ड नपुगेकालाई सिफारिस गरिएको भन्दै नोट अफ डिसेन्ट लेखेका थिए।
प्रदेश प्रमुख निकालेर नयाँ नियुक्त गर्न पार्टीभित्र र सत्तारूढ समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवसँग पनि आफूले छलफल गरेको प्रचण्डले बताए।
सरकार परिवर्तनपछि प्रदेश प्रमुख नियुक्ति हुनु स्वभाविक नै हुने उनले बताए।

