नवनियुक्त प्रदेश प्रमुखहरुद्वारा शपथ ग्रहण
काठमाडौं ,नवनियुक्त सातै प्रदेशका प्रमुखहरूको सपथ ग्रहण गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालयमा सबै प्रमुखहरुलाई सपथ ग्रहण गराएकी हुन्।
प्रदेश प्रमुखहरुको सपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिम्लसिना लगायत मन्त्री तथा विशिष्ठ सरकारी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
मन्त्रिपरिषद्को सिफारिसमा सोमबार साँझ भण्डारीले कास्कीका सोमनाथ अधिकारी ‘प्यासी’ लाई प्रदेश १, बाँकेका तिलक परियारलाई प्रदेश २, झापाका विष्णु प्रसाईंलाई प्रदेश ३, म्याग्दीमा जन्मिएर चितवनलाई राजनीतिक थलो बनाएका अमिक शेरचनलाई गण्डकी, सिरहाका धर्मनाथ यादवलाई प्रदेश ५, बैतडीका गोविन्द कलौनीलाई कर्णाली प्रदेश र काठमाडौंकी शर्मिलाकुमारी पन्तलाई सुदूरपश्चिम प्रदेश प्रमुख नियुक्त गरेकी हुन्।
नेकपाको सक्रिय राजनीति गरिरहेका उनीहरूलाई प्रदेश प्रमुख नियुक्त गर्न मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सिफारिस गरेको थियो। राष्ट्रपति भण्डारीले मंगलबार शपथ गराएपछि उनीहरूले प्रदेश प्रमुखको जिम्मेवारी सम्हाल्नेछन्।
सोमबार बिहान बसेको नेकपा सचिवालय बैठकले सात जनाको नाम छनोट गरेको थियो। नियुक्त भएकामध्ये ४ जना पूर्वएमाले र ३ जना पूर्वमाओवादी पक्षका छन्।