प्रदेश प्रमुखको नाममा माधव नेपालको ‘नोट अफ डिसेन्ट’
काठमाडाैँ,सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य माधवकुमार नेपालले पार्टीले सिफारिस गरेका प्रदेश प्रमुखको नाममा लिखित असहमति जनाएका छन्।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकले प्रदेश प्रमुखमा सात जनाको नाम सिफारिस गरेको थियो। सात जनामा नेपालले सिफारिस गरेका कुनै पनि व्यक्तिको नाम नपरेपछि पार्टी निर्णयमा ‘नोट अफ डिसेन्ट’ लेखेका हुन्। प्रदेश प्रमुखमा सिफारिस भएका नामप्रति नेपालले असन्तुष्टि व्यक्त गरेको एक सचिवालय सदस्यले बताए।
उनका अनुसार नेपालले प्रदेश प्रमुखमा अमृत बोहरा, प्रदीप नेपाल, विश्वकान्त मैनाली, रघुजी पन्त, श्रीमाया थकालीको नाम सिफारिस गरेका थिए। नेपालले सिफारिस गरेका कुनै पनि व्यक्ति प्रदेश प्रमुखमा सिफारिस नभएपछि उनी असन्तुष्ट बनेका हुन्।
प्रदेश प्रमुखमा दुई अध्यक्षले ४/३ को भागबण्डा गरेको नेपालको आरोप छ। प्रदेश प्रमुखमा सिफरिस भएकामा ओली निकट ४ र प्रचण्ड निकट ३ जना रहेका छन्।

