प्रधानमन्त्री ओली तेस्रो पटक डायलाइसिस गर्न ग्राण्डी अस्पतालमा
काठमाडौं, प्रधान्मन्त्री केपी शर्मा ओली मिर्गौलाको तेस्रो पटक डायलाइसिस गर्न ग्राण्डी अस्पताल पुगेका छन्।गत बुधबार र बिहीबार दुई पटक डायलाइसिस गरिएकोमा प्रधानमन्त्रीले अस्वस्थ महसुस गरेपछि आइतवार बिहान ९ बजे पुनः धापासीस्थित असप्ताल लगिएको हो ।
शनिबार बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो मिर्गौलाले काम गर्न छाडेर समस्या भएको जानकारी दिएका थिए। नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार प्रमले सचिवालय बैठकमा आफू सिकिस्त नभए पनि मिर्गौलाले दुःख दिएको बताएका थिए।
मन्त्रिपरिषद् बैठक सर्यो
ओलीलाई डायलाइसिसका लागि ग्राण्डी लगिएपछि आजै ११ बजे बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक अपरान्ह ३ बजेका लागि सारिएको छ। ओली अस्वस्थ भएपछि मन्त्रिपरिषद् बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै डाकिएको थियो। नेकपाको सचिवालय बैठक पनि आजै बस्ने पूर्वनिर्धारित कार्यतालिका थियो । नेकपाको सचिवालय बैठकले कास्की २ सहितका स्थानमा मंसिर १४ गते हुन लागेको उपनिर्वाचनका लागि उम्मेदवार तय गर्ने तयारी थियो। ओलीको ग्राण्डीमा आइतवार करिब ४ घण्टासम्म डायलाइसिस गरिँदैछ । यसअघि गत भदौमा मिर्गौलाको आयु लम्याउनका लागि सिंगापुरमा ६ पटकसम्म गरिएको प्लाज्मा फेरोसिसले काम नगरेपछि डायलाइसिस थियो।