पेट्रोलियम पदार्थ अन्वेषण गर्न चिनियाँ टोलीद्वारा चुप्रामा क्याम्प निर्माण
दैलेख, दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण गर्न चिनियाँ कम्पनीले क्याम्प स्थापना गरेको छ । पेट्रोलियम भण्डारणको बढी सम्भावना भएको शिरिस्थान, नभिस्थानलगायतका क्षेत्रमा अन्वेषणका लागि डुगेश्वर गाउँपालिका–१ स्थित चुप्रा बजारनजिक क्याम्प निर्माण गरेको हो । नेपाल र चीनबीच भएको सम्झौताअनुसार पहिलो चरणमा साइस्मिक सर्भे, जिओलोजिकल सर्भे, म्याग्नेट सर्भेलगायतका काम हुनेछन् ।
दैलेख बजारको गणेशचौकमा चाइना जिओलोजिकल सर्भेको कार्यालय स्थापना गरिएको छ । यसपटक कति परिमाणमा पेट्रोलियम पदार्थ छ र कुन–कुन भूभागमा छ भन्ने अन्वेषण गरिने भएको छ । क्याम्प निर्माणसँगै विभिन्न स्थानको छनोट गरेर सोही आधारमा काम सुरु भएको कम्पनीले जानकारी दिएको छ । जमिनको पाँच किलोमिटरमुनिसम्म ड्रिलिङ गरेपछि पेट्रोलियम पदार्थको परिमाण पत्ता लगाउन सकिने भएकाले सोहीअनुसार अनुसन्धान थालिनेछ ।
अन्वेषणका लागि कामदार माग
पेट्रोलियम पदार्थ अन्वेषणका लागि स्थानीय कामदारको माग भएको छ । त्रिवेणी ओभरसिजले दक्ष/अदक्ष गरेर आवश्यक ८३ जना जनशक्तिका लागि सूचनासमेत प्रकाशन गरिसकेको छ । अदक्ष कामदार सबै जिल्लाभित्रकै राखिने कम्पनीले जानकारी दिएको छ । पहिलो चरणमा ५० जनाले स्थानीयस्तरमै रोजगारी पाउने भएका छन् ।
त्रिवेणी ओभरसिजका सूर्यमणि लामिछानेले अन्य विषयविशेषज्ञ र अन्वेषणसँग ज्ञान भएकाहरू जिल्लाभित्रै भए प्राथमिकता दिइने बताए । अहिले अदक्ष कामदार ५० जना, ड्रिलर १० जना, सुटर पाँचजना, टावल सुटर पाँचजना, जिपिएस अपरेटर पाँचजना, सर्भेयर ६ जना, ड्रिलिङ फोरम्यान र लाइन फोरम्यान एक–एकजना आवश्यक भएको लामिछानेले बताए । नयाँपत्रिकाबाट