कोहलपुरका डीएसपी शाहीलाई कारबाही गर्न कांग्रेसको माग

काठमाडौं,नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले इलाका प्रहरी कोहलपुर, बाँकेका प्रहरी नायव उपरीक्षक (डीएसपी) हेमबहादुर शाहीलाई कारबाही गर्न माग गरेका छन् ।

डीएसपी शाहीले तरुण दल बाँकेका कोषाध्यक्ष केशर खड्कालाई मोबाइल फोनमा धम्की दिएको रेकर्ड सार्वजनिक भएको बताउँदै आइतबार प्रवक्ता शर्माले ट्वीटरमार्फत तत्काल विभागीय कारवाही गर्न माग गरेका हुन् । शर्माले उनलाई तत्काल विभागीय अनुसन्धानको दायरामा ल्याइनुपर्नेमा जोड दिएका छन् ।

“धम्कीको रेकर्ड सार्वजनिक छ, कोहलपुर काण्डका नाइकेलाई तत्काल विभागीय अनुसन्धानको दायरामा ल्याओस् । प्रहरीको मर्यादा हामी राख्छौं, निष्पक्ष छानबिनलाई सघाउँछौं, तर खुलेआम गुण्डागर्दी गरेर बर्दीको हुर्मत लिने ती महोदयलाई सत्य सेवा सुरक्षणम्को तीन मन्त्र पुनः पढाइयोस्,” प्रवक्ता शर्माले ट्विटमा भनेका छन् ।

प्रहरी नायव उपरीक्षक शाहीले तरुण दलका जिल्ला कोषाध्यक्ष खड्कालाई टेलिफोनमा दिएको धम्कीको रेकर्ड शुक्रबार सार्वजनिक भएको थियो । उक्त फोन रेकर्डअनुसार दसैं अगाडि शाहीले खड्कासँग खसी मागेको, खसी नदिएपछि उनीहरुबीच विवाद बढेको देखिन्छ ।