कांग्रेसको पदाधिकारी बैठक बस्दै, आजै उम्मेदवारको टुंगो लगाउने
काठमाडाैं,उपनिर्वचनका उम्मेदवारका बारेमा टुंगाे लगाउन नेपाली कांग्रेसको पदाधिकारी बैठक आज दिउँसो बस्दैछ । सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बस्ने बैठकले उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारको टुंगो लगाउनेछ ।
पदाधिकारी बैठकमा पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता कृष्णप्रसाद सिटौला पनि सहभागी हुनेछन् । कांग्रेसको शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टीका तर्फबाट उम्मेदवार चयन गर्ने जिम्मा पदाधिकारीलाई दिएको थियो । कांग्रेस विधानमा उम्मेदवार चयन गर्न संसदीय समितिको व्यवस्था छ ।
विधानविपरीत संसदीय समिति गठन भएको भन्दै पार्टीभित्रबाटै विरोध भएपछि सभापति देउवाले डेढ वर्षअघि समिति विघटन गरेका थिए । त्यसपछि संसदीय समिति गठन हुन सकेको छैन ।
नेपाली कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज बस्ने पदाधिकारी बैठकले उम्मेदवारको टुंगो लगाउने बताए । उनले केन्द्रीय समितिको निर्देशन र सुझाव बमोजिम पदाधिकारीले निर्णय गर्ने बताए ।

