नेता-कार्यकर्ता गिरफ्तारी बिरुद्ध बांकेका बिभिन्न ठाउँमा विद्रोही नेकपाले निकाल्यो मशाल जुलुस
नेपालगन्ज, विप्लव नेतृत्वको विद्रोही नेकपाले बांकेका बिभिन्न ठाउँमा मशाल जुलुस निकालेको छ । उक्त पार्टीमा केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’सहित २१ जना नेता तथा कार्यकर्तालाई गिरफ्तार गरेको विरोधमा नेकपाले शुक्रबार बांकेको राप्तिसोनारी, नरैनापुर, खजुरा, बैजनाथ लगायतका ठाउँमा मसाल जुलुस निकालेको हो ।
शान्तिपुर्ण राजनीतिक कार्यक्रम गरिरहेको आफ्नो पार्टी माथिको प्रतिबन्ध, दमन धरपकड तथा नेता-कार्यकर्ताहरुलाई गिरफ्तार गरेको विरोध स्वरुप केन्द्रीय संघर्षका कार्यक्रम अनुसार बांकेमा पनि जुलुस निकालिएको बिद्राेहि नेकपा बाँकेले जनाएकाे छ । त्यस्तै, कार्तिक १७ गते बिहान १० बजे देखी ११ बजे सम्म एक घण्टे चक्काजाम रहेको पनि उनले जानकारी दिए ।
गएको असोज ३० गते राती पार्टीको राप्ती ब्युरोको बैठक बसिरहेको समयमा नेकपाका केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज विरजंग, राप्ती ब्युरो इन्चार्ज सुवास, राप्ती ब्युरो सदस्यहरु सविन, युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष पाटन, राप्ती ब्युरो सदस्य सुन्दर, दाङ जिल्ला इन्चार्ज विक्रम, रोल्पा जिल्ला इन्चार्ज प्रयास, सल्यान जिल्ला इन्चार्ज विश्व, दाङ जिल्ला सेक्रेटरी प्रदिप, पश्चिम रुकुम जिल्ला इन्चार्ज/सेक्रेटरी चन्द्र बुढा लगायत २१ जना नेता कार्यकर्तालाई दाङको राजपुर गाउँपालिका मुङग्रेठा भन्ने स्थानवाट गिरफ्तार गरेको थियो । उक्त गिरफ्तारीको विरुद्ध नेकपाले देशभर चरणबद्ध संघर्षको कार्यक्रम घोषणा गरेकाे छ । ।