जेलरको सरुवापछि नेपालगन्जका कैदि बन्दीहरुले गरे आन्दोलन स्थगित

नेपालगन्ज,बाँके कारागारका बन्दीले जेलरको सरुवापछि आन्दोलन स्थगित गरेका छन । करिब   ३३ घण्टापछि आन्दोलन स्थगित गरेका हुन्। बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जेलर भरतराज पाण्डेलाई जिल्ला प्रशासन कार्यालयमा तानेर पद मुक्त गरेपछि बन्दीहरुले बिहीबार बिहान ७ बजेदेखि जारी आन्दोलनका कार्यक्रम शुक्रबार दिउँसो सवा ४ बजेतिर स्थगित गरेका हुन्।

कारागारका चौकिदार भरत फडेरा र नाइके मानबहादुर शाही पनि पद मुक्त भएका छन्। उनीहरुको पनि सरुवा गर्ने सहमति भएको छ। आन्दोलन स्थगितसँगै फडेरा र शाहीलाई ३३ घण्टापछि थुना मुक्त गरिएको थियो। आन्दोलनकारीले पुरुष बन्दीगृहको पहिलो र दोस्रो प्रवेश द्वारको बीच भागमा फडेरा र शाहीलाई थुनेका थिए।

कैदिहरूकाे आन्दोलनले ‘चौकीदार र नाइके पनि पद मुक्त भएका छन्। कार्यविधि अनुुसार जेलरको सिफारिसका आधारमा कारागार व्यवस्थापन विभागले अर्को चौकीदार र नाइके नियुक्त गर्नेछ।’

आन्दोलनकारी बन्दीका तर्फबाट सरदार भगत सिंह, विकास केसी, हरि खत्री र जनक बुढामगरले प्रमुख जिल्ला अधिकारी खड्का, बाँके प्रहरी प्रमुख एसपी वीरबहादुर ओली, सशस्त्र प्रहरीका एसपी दीपक अधिकारी, राष्ट्रिय मानव अधिकार आयोगका अधिकृत द्वारिका अधिकारी, इन्सेकका भोला महत, उपभोक्ता हित संरक्षण मञ्चका वसन्त गौतम, थर्ड एलायन्सका आलम खानलगायतबीच छलफल गरेपछि आन्दोलन स्थगित भएको घोषणा गरेका हुन्।

छलफलका क्रममा कारागारभित्र भएका अनियमितता र बन्दीसेवा सुविधाबाट बञ्चित हुनु परेको विषयमा नागरिक समाजसमेत सम्मिलित टोलीले छानबिन गर्ने सहमति भएकाे बताइएकाे छ ।

बाँके कारागारमा क्षमताभन्दा तेब्बर बढी बन्दी राखिएको छ। दुई सय पचास क्षमता रहेको पुरुष बन्दी गृहमा झन्डै तेब्बर बन्दी अर्थात सात सय १९ जनालाई राखिएको छ। ५० जनाको क्षमता रहेको महिला बन्दीगृहमा ५३ जना छन्। कारागारमा अहिले ७ सय ७२ जना कैदी र बन्दी छन्। कारागारमा अहिलेसम्मकै उच्च बन्दी हो।