‘भिआइपी’ जुवाडेलाई छुटाउन सर्बोच्चमा रिट

काठमाडौँ , साढे दुई करोड भन्दा बढी रकमसहित जुवाको खालबाट पक्राउ परेका ‘भिआइपी’ जुवाडे मध्ये केहीलाई छुटाउने प्रयास भएको छ । काठमाडौँको महाराजगञ्जबाट शनिबार राति प्रहरीको टोलीले दुई करोड ६७ लाख नगद तथा तीन लाखको चेकसहित २५ जना जुवाडेलाई पक्राउ गरेको थियो ।

उनीहरुमध्ये ६ जनाको हकमा एक व्यक्तिले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए । रेखा कुँवरले पक्राउ परेका मध्ये बलराम सापकोटा, पवित्रकुमार कार्की, पवनकुमार गुप्ता, मुक्ति लामा, विक्रम गौतम र श्रवणकुमार गोलयका कहमा तिहार मनाउन पाउनु पर्ने भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेको सर्वोच्चका सह प्रवक्ता देवेन्द्र ढकालले जानकारी दिएका छन् ।

आइतबार दायर भएको रिटमा सुनुवाई गरी सम्बन्धित व्यक्तिहरुलाई २४ घण्टा भित्र अदालत उपपस्थित गराउनका सर्वोच्चले आदेश दिएको उनले बताए । आइतबार अपराहन्न चार बजे म्याद तामेल भएकाले सोमबार चार बजे भित्र उनीहरुलाई अदालत उपस्थित गराउनु पर्छ ।

सम्बन्धित ६ जनालाई अदालत लैजाने तयारी आफूहरुले थालेको महाराजगञ्ज प्रहरी वृत्तका डिएसपी उमेश लम्सालले जानकारी दिएका छन् । यी जुवाडेहरु सम्बन्धी मुद्दा जिल्ला प्रशासन कार्यालयमा जाने खालको हो । आफूहरुले पक्राउ पूर्जी जारी गरेरै पक्राउ गरिएको डिएसपी लम्सालले बताएका छन् ।