भारतको पिथौरागढमा तीन नेपाली मजदूरको हत्या

बैतडी । भारतको पिथौरागढमा तीन नेपाली मजदूरको हत्या भएको छ । उनीहरुको कात्तिक ८ गते हत्या भएपनि आइतबार मात्रै थाहा भएको हो ।

पुरचौंडी नगरपालिका–५ दहतालीका ३६ वर्षीय हरे बोहरा र सोही स्थानका २७ वर्षीय बीरा बोहरा तथा पुर्चौंडी नगरपालिका–४ भटना तडीखेतका ३६ वर्षीय काशी बोहराको हत्या भएको जिल्ला समन्वय समितिका उपप्रमुख धनबहादुर बोहराले बताए ।

उनले भने, “उनीहरुलाई धारिलो हतियारले काटेर हत्या गरिएको खबर प्राप्त भएको छ”, हरे र बीरा सहदोर भाइ हुन् ।

उनीहरुले पिथौरगढको सिलौल मड भन्ने ठाउँमा गएको डेढ वर्षयतादेखि मजदूरी गर्दै आइरहेका थिए ।

हरे बोहराकी श्रीमती फरार रहेकीले यो घटनामा उनको संलग्नता हुनसक्ने आशङ्का गरिएको उपप्रमुख बोहराको भनाइ थियो ।

शवलाई पिथौरागढ जिल्ला अस्पतालमा राखिएको छ । बीरा केही महीना अघि मात्रै दाजुभाउजूलाई भेट्न पिथौरागढ गएकामा उनी पनि उतै मजदूरी गर्दै आएका थिए । हत्या कसले गरेको हो भन्नेबारे खुल्न सकेको छैन ।