प्रहरी चौकी नजिकै गाँजा खेती, हेरेको हेर्यै प्रहरी

जाजरकाेट, गाँजा (चरेस), अफिम जस्ता अबैद्य लागु औषधको उत्पादन, खरिद, विक्रि, ओसार पसारका लागि केन्द्रविन्दुका रुपमा रहेको जाजरकोट जिल्लाको कुशे गाउँपालिका–५ पाँचकाटिया स्थित प्रहरी चौकी नजिकैको झण्डै तीन रोपनी जग्गामा गाँजा (चरेस) खेती भईरहेको पाईएको छ ।

नेपाल प्रहरीले उक्त गाँजा खेती नष्ट गर्नुको सट्टा संरक्षक भए जस्तो भान हुन थालेको स्थानीयबासीहरुले बताउन थालेका छन् । नेपाल सरकारले अन्तराष्ट्रिय संन्धिमा हस्ताक्षर गरेपछि गाँजा (चरेस), अफिम जस्ता अबैद्य लागु औषधको उत्पादन, खरिद, विक्रि, ओसार पसारमा प्रतिबन्ध लगाईएको हो ।

नेपाल सरकारको कानुनले बन्देज गरेको अबैद्य लागु औषधको उत्पादन, खरिद, विक्रि, वितरण तथा ओसार पसारमा संलग्नलाई कारबाही गर्नुको अलाबा प्रहरी नै संरक्षक बने जस्तो देखिने गरि चौकी नजिकैको जग्गामा गरिएको गाँजा (चरेस) खेतीलाई सर्बसाधारणले नजिकबाट निहाली रहेका छन् ।

प्रहरी चौकीको फिल्ड र उक्त गाँजा खेती गरिएको जग्गा बीचको दुरी डेढ सय मिटर भन्दा कम रहेको छ । प्रहरी चौकी देखि पश्चिम पुर्वमा रहेको जग्गामा उक्त गाँजा खेती गरिएको छ ।