राजपा सांसद साह त्रिभुवन विमानस्थलबाट पक्राउ

काठमाडौं,राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का सांसद प्रमोद कुमार साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। साहले सोमवार जनकपुर विमानस्थलमा तोडफोड गरेको उजुरी परेपछि प्रहरीले अदालतबाट पक्राउको लागि अनुमति मागेको थियो।

अदालतको अनुमतिपछि धनुषा प्रहरीले काठमाडौंमा रहेका साहलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो। साहलाई काठमाडौंबाट ओखलढुंगा जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको छ।

साहले आफ्नो फेसबुकमा विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएको स्टाटस पोस्ट गरेका छन्। सर्लाहीको निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित साहले सोमवार बुद्ध एयरको काउन्टर तोडफोड गरेका थिए।

प्रशासनको लापर्बाहीका कारण आफू आक्रोशित भएको सांसद साहले स्वीकार गरेका छन्। विमानस्थलभित्र रहेको बुद्ध एयरको काउन्टरको सिसा फुटेको विमानस्थलले जानकारी दिएको छ।