७२ दिनपछि शुरु भयो जम्मु कश्मिरमा मोबाइल सेवा
श्रीनगर– जम्मु काश्मिरमा ७२ दिनपछि सोमबार दिउँसोदेखि पोस्टपेड मोबाइल सेवा शुरु गरिएको छ । जम्मु काश्मिरका मुख्य सचिव रोहित कन्सालले सोमबार दिउँसो १२ बजेदेखि काश्मिर प्रान्तका सबै १० वटा जिल्लामा पोस्टपेड मोबाइल सेवा सञ्चालन हुने जानकारी दिएका छन् । सुरक्षा स्थितिको मूल्याङ्कन पश्चात जम्मु काश्मिरका सबै भागमा मोबाइल सेवा सुचारु गर्ने निर्णय भएको उनले बताए ।
भारतीय संविधानबाट धारा ३७० मा रहेका प्रावधान हटाएका कारण सुरक्षा खतरा बढ्ने सम्भावना रहेको भन्दै भारत सरकारले सम्पूर्ण जम्मु काश्मिरमा गत अगस्ट ५ देखि सबै टेलिकम नेटवर्क र ल्यान्डलाइन सेवा बन्द गरेको थियो ।
यसअघि नै ल्यान्डलाइन सेवा चरणबद्ध रुपमा खुला गरिए पनि काश्मिर उपत्यकाका विभिन्न क्षेत्रमा मोबाइल उपकरणको प्रयोगमा प्रतिबन्धहरु लगाइएको थियो । कंसालले गत शनिबार जम्मु काश्मिरका सबै इलाकामा ल्यान्डलाइन फोन सेवा पूर्ण रुपमा सञ्चालनमा आएको जानकारी दिएका थिए ।
कन्सालले जम्मु काश्मिरमा हिँडडुलमा लगाइएका प्रतिबन्धहरु पनि ९९ प्रतिशत हटेको जनाएका छन् । जम्मु काश्मिरका गभर्नरले पर्यटकहरुका लागि जम्मु काश्मिर अक्टोबर १० देखि खुला रहने घोषणा गरेलगत्तै टेलिकममा लगाइएका प्रतिबन्धहरु पनि हटाइएका हुन् ।
स्थानीय प्रशासनले जम्मु काश्मिर भ्रमणमा आउने पर्यटकलाई आवश्यक सहयोग र स्रोत उपलब्ध गराउने जनाएको छ । परिस्थिति सामान्य भएसँगै गत अगस्ट २९ देखि नै जम्मुका डोडा, किस्टवाड, रामबन, रजौरी र पूँचमा पोस्टपेड मोबाइल सेवा शुरु भइसकेको छ ।