प्रधानमन्त्रीले छोरीहरुलाई पठाए दसैं खर्च

मुगु, डेढ वर्षअघि भर्ना अभियानमा अभिभावकत्व लिइएका छोरीहरूको चासो दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले दसैं खर्च पठाएका छन् । प्रधानमन्त्री ओलीले जिल्लाको पूर्वी करान भेगमा पर्ने मुगुमकार्मारोङ गाउँपालिका–८, का छिजु तामाङ र कार्मा टोन्डु लामाका ६ वर्षीया छोरी थिल्ने साङ तामाङलाई प्रधानमन्त्री ओलीले दसैं खर्च पठाएका हुन् ।

शुभकामना सन्देशसहित उनले जनही पाँच/पाँच हजार खर्च पठाएका हुन् । तामाङ बुद्ध मावि विद्यालय कक्षा २ मा अध्ययनरत छिन् । प्रधानमन्त्री ओलीले ‘कर्णाली रारा पर्यटन वर्ष २०७५’ को उद्घाटन गर्न आएको बेला अभिभावकत्व ग्रहण गरेका थिए ।

उक्त खर्च नीजि सचिवालयलमार्फत् सोमबार सम्बन्धित विद्यालयका प्रधानाध्यापक र विद्यार्थीका अभिभावकको समन्वयमा बैंकमा जम्मा गरिएको बालिकाका बुबा छिजु तामाङले जनाए । ‘प्रधानमन्त्रीले देशका सबै बालबालिकाको उज्ज्वल भविष्यको कामना गर्दै उचित शिक्षाको प्रबन्धका लागि नीतिगत सुधारको पहल गर्नु भएकोछ,’ उनले भने, ‘यसले थप सकारात्मक सन्देश प्रवाह भएको छ ।’

यसअघि ती विद्यार्थीलाई गत पुस र साउनमा पनि आर्थिक सहयोग र स्टेसनरी पठाइएको उनले जानकारी दिए । दुई वर्षभित्र मुलुकबाट निरक्षरता हटाउने घोषणासहित शुरु भएको भर्ना अभियानअन्तर्गत प्रधानमन्त्री ओली र राधिका शाक्यले २०७५ वैशाख १ गते कर्णाली प्रदेशको मुगुमा कक्षा १ मा थिल्ने साङकीलाई भर्ना गरेर अभिभावकत्व ग्रहण गरेका थिए ।