अन्योलमा महराको राजनीतिक भविष्य

महिलामाथि यौन दुर्व्यवहार गरेको आरोपछि राजीनामा दिएको सभामुख कृष्णबहादुर महराको राजनीतिक भविष्य अन्योलमा परेको छ।

संसद्मै कार्यरत महिला कर्मचारी रोशनी शाहीले आइतबार राति आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले नै उनलाई सभामुख र सांसद दुवैबाट राजीनामा दिन लगाएको थियो।

मंगलबार बिहान ११ बजे बसेको पार्टी सचिवालय बैठकमा उपस्थित भएका सबै सदस्यले महरा पदीय हैसियतले पनि महिला एक्लै भएको स्थानमा पुग्नु नै गलत भएको ठहर गरेका थिए।

नेकपाको सचिवालय बैठकअघि मंगलबार बिहान ९ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले प्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनाललाई बोलाएका थिए। महानगरीय प्रहरी वृत्त लैनचौरको नयाँ भवन शिलान्यास गर्न पुगेका आइजीपी खनाललाई बोलाएर ओलीले घटनाको सबै विवरण लिएका थिए। उनले महरा ती महिलाको कोठमा जाने रुटको सिसिटिभी फुटेजसमेत मगाएर हेरेका थिए।

सो फुटेज प्रधानमन्त्री ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल तथा नेकपाकै चौथो वरियताका माधवकुमार नेपालले समेत हेरेपछि प्रधानमन्त्री निवासमै महरालाई बोलाएर छलफल गरेका हुन्।

महाराले रोशनीकोमा आफू गएको स्वीकार गरेकाले राजीनामा दिएर सहजीकरण गर्न ओली, दाहाल र नेपालले सुझाव दिएका थिए। बिहान करिब १० बजेतिर आइजिपी खनाल निस्केपछि नेकपाको सचिवालय बैठक बसेको थियो।

महरालाई बोलाउनुअघि नेता नेपाल तथा दुई अध्यक्षबीच पनि यो विषयमा छलफल भएको थियो। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।