सार्कलाई गति दिन सबै राष्ट्र तयार छन् – मन्त्री ज्ञवाली
काठमाडौं । सार्क आबद्ध केही राष्ट्रबीचको मनमुटावले पछिल्लो समय सार्क गतिहीन देखिएको छ । यसको नियमित गतिविधिसमेत केही समयदेखि प्रभावित हुँदै आएको छ । तर, संयुक्त राष्ट्रसंघको ७४ औं महासभा बैठकमा सहभागी भएर स्वदेश फर्किएका परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले यसका सबै राष्ट्र गति दिन तयार भएको बताएका छन् ।
मन्त्री ज्ञवालीले सार्कलाई गति दिन यसका सदस्य राष्ट्र तयार रहेको बताएका छन् । मन्त्री ज्ञवालीका अनुसार, दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को अनौपचारिक मन्त्रिरिषद् बैठकमा सबैले सार्कलाई सक्रिय पार्न भूमिका खेल्ने प्रतिबद्धता पनि जनाएका छन् ।
ज्ञवाली संयुक्त राष्ट्रसंघकाे ७४औं महासभा बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ गएका थिए । बैठकका क्रममा ज्ञवालीले जलवायु शिखर सम्मेलन, दिगो विकासका लक्ष्य, शिखर सम्मेलन, सबैका लागि स्वास्थ्य र विकासका लागि आर्थिक स्रोतको व्यवस्था विषयक बेग्लाबेग्लै बैठकमा भाग लिएका थिए ।
विश्वका १२३ भन्दा बढी राष्ट्र र सरकार प्रमुखहरु र अन्य देशबाट उपराष्ट्रपति, उपप्रधानमन्त्री र परराष्ट्रमन्त्रीसमेत गरी १९२ देशबाट प्रतिनिधित्व भएको थियो ।