मन्त्री बाँस्कोटाले भने–गल्ति गर्ने नै जिम्मेवार हुने हो । हामीलाई के मतलव ?
काभ्रे,सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले व्यक्तिले गर्ने गल्तीको दोष पार्टीले नबोक्ने बताएका छन् । उनले व्यक्तिले गरेका गल्तीहरु पार्टीमा ल्याएर जोड्न नहुने बताए ।
यौन दुर्व्यवहारको आरोप लागेका तत्कालिन सभामुख कृष्णबहादुर महराको नाम नलिइकन मन्त्री बाँस्कोटाले कसैले गल्ती गरेको छ भने कारबाही गर्नुपर्ने बताए ।
नेकपा बनेपा नगर कमिटीको एक कार्यक्रममा मन्त्री बाँस्कोटाले प्रश्न गरे‘व्यक्तिले कहाँ भ्रष्टाचार गर्छ, त्यो पनि पार्टीले गर्यो त? त्यसबारेमा त त्यही व्यक्तिलाई कारबाही हुनुपर्छ।’
‘कसैले गएर नचाहिएको काम गर्ला, हुलहुज्जत गर्ला, इज्जत खेलवाड गर्ला, त्यसमा उही जिम्मेवार हुने हो, हामीलाई के मतलव ?’मन्त्री बाँस्कोटाले भने ।
मन्त्री बाँस्कोटाले यस्ता घटनाहरु समाजमा भइरहने भन्दै चिन्तित नहुन कार्यकर्ताहरुलाई आग्रह गरे ।
‘यस्ता घटनाहरु समाजमा भइरहन्छन्, समाजमा राम्रा मान्छे पनि हुन्छन्, नराम्रा मान्छे पनि हुन्छन्,’उनले भने, ‘नराम्रा पाखा लाग्छन्, राम्रा मान्छे कम्युनिष्ट पार्टीमा, कमिटीमा। यसमा धेरै चिन्तित हुनै पर्दैन, त्यही हो कुरा।’