नेकपा सचिवालय बैठक बस्दै, यस्ता छन् एजेन्डा

काठमाडाैँ,सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज (शनिबार) बस्दै छ। पार्टी एकता प्रक्रियाका बाँकी कामलगायत विविधि विषयमा छलफल गर्न नेकपा सचिवालयको बैठक आज दिउँसो बालुवाटारमा बस्ने भएको हो।

बैठक दिउँसो ३ बजे बस्ने तय भएकाे नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले नेपालखबरलाई जानकारी दिए।

गत बिहीबार बस्ने भनिएको बैठक प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीको व्यस्तता र अर्का अध्यक्ष प्रचण्डको अस्वस्थताका कारण स्थगित भएको थियो।

बैठकमा प्रदेश २ को नेकपामा देखिएको विवादबारे पनि छलफल हुने नेकपा स्रोतले जानकारी दिएको छ। पार्टीका लेखा आयोग, प्रवास कमिटी, अनुशासन आयोग लगायतका विभिन्न संगठनको समायोजन तथा कार्यविभाजन टुंगो लगाउन बाँकी छ।