यी हुन दसैंमा नयाँ नोट साट्न पाइने ठाउँहरु
काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ तथा सुकिलो नोट सटही सम्बन्धी सूचना जारी गर्दै काठमाडौंका विभिन्न कार्यालयबाट असोज १० गते देखि नयाँ नोट पाइने जानकारी गराएको छ ।
“बडा दसैं तथा पर्वमा खासगरी साना दरका नयाँ तथा सुकिलो नोटको माग उच्च हुने विगतको अनुभवलाई ध्यानमा राखी आगामी बडा दसैं, २०७६ को अवसरमा यस बैंकको मुद्रा व्यवस्थापन विभाग, बालुवाटार र विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी कार्यालय तथा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, नेपाल बैंक लिमिटेड र कृषि विकास बैंक लिमिटेडका उपत्यकासहित देहायका शाखा कार्यालयहरुबाट २०७६ असोज १० गतेदेखि १७ गतेसम्म रु ५, रु १०, रु २०, रु ५० र रु १०० का दरका एक–एक पाकेट गरी प्रतिव्यक्ति अधिकतम रु १८ हजार ५०० का दरले नयाँ नोट सटही सुविधा उपलब्ध गराइने व्यहोरा जानकारी गराइएको छ,” राष्ट्र बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
काठमाडौंमा नयाँ नोट पाइने स्थानः
(क) नेपाल बैंक लिमिटेड, शाखा कार्यालयहरु
न्यूरोड, कीर्तिपुर, महाराजगंज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखा ।
ख) राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, शाखा कार्यालयहरु
सिंहदरबारप्लाजा (केन्द्रीय कार्यालय), सिंहदरबार परिसर, टेकु, नयाँ बानेश्वर, सानो थिमी, विशालबजार, नक्साल, बालाजु, लुभु र टोखा शाखा ।
ग) कृषि विकास बैंक लिमिटेड, शाखा कार्यालयहरुः
गौशाला, गट्ठाघर, रामशाहपथ, रत्नपार्क, थानकोट र पुल्चोक शाखा
यसबाहेक अन्य वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय संस्थाहरुबाट पनि नयाँ नोट उपलब्ध हुने छ ।