सासंदमा खतिवडाको ब्यङग्य डेंगु नियन्त्रणका लागि लामखुट्टेश्वर महादेव चाहियो
काठमाडौँ ,नेकपा सांसद विरोध खतिवडाले लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु रोग नियन्त्रणका लागि लामखुट्टेश्वर महादेव स्थापना गर्नुपर्ने भन्दै सरकारलाई व्यंग्य गरेका छन् । व्यवस्थापिका–संसद बैठकमा बुधबार खतिवडाले सरकारले नसकेकाले डेंगु नियन्त्रणका लागि देवीदेवता गुहार्नुपर्ने अवस्था आएको बताए । उपप्रधान, स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले डेंगु रोग नियन्त्रणका लागि भइरहेका प्रयासबारे जानकारी गराएपछि उनी बोेलेका थिए । त्यस क्रममा यादवले डेंगुको औषधि पत्ता नलागेको बताए ।
नेपालभन्दा धनी र सबल मुलुकले समेत डेंगुको उपचार गर्न नसकेको भन्दै पन्छिने प्रयास गरेका थिए । मन्त्रीका कुरा सुनेर आक्रोशित भएका खतिवडाले लामखुट्टेश्वर महादेव स्थापना गर्नुपर्ने बताए । ‘पुरानो संसद भवन (सिंहदरबार) मा संसदेश्वर महादेव छ । मेरो गाउँ ठिंगन (मकवानपुर) मा फलफूल लटरम्म फलोस भनेर लटरमेश्वर महादेव छ ।
सन्तानका लागि सन्तानेश्वर महादेव छ’ खतिवडाले व्यंग्य गर्दै भने ‘हामी कहाँ मानिसले नसेकेपछि देवीदेवता गुहार्ने चलनै छ । डुंगु रोक्न किन लामखुट्टेश्वर महादेव स्थापना नगर्ने ?’ खतिवडाका कुरा सुनेर संसदमा हाँसो फैलिएको थियो ।