अबको पचास वर्ष कम्युनिस्ट सरकार : अध्यक्ष दाहाल
झापा,नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा कम्युनिस्ट आन्दोलनप्रति जनताको आशा र भरोसा अझ बढेको बताउँदै अबको ५० वर्ष कम्युनिस्टले सरकारको नेतृत्व गर्ने दावी गरेका छन् ।
झापाको विर्तामोडमा शनिबार आयोजित गौरीशङ्कर खड्का स्मृति प्रतिष्ठानको साधारणसभा उद्घाटन समारोहमा अध्यक्ष प्रचण्डले नेपालमा कम्युनिस्ट शक्तिले सरकारको नेतृत्व गरेको नरुचाउने तत्वले कम्युनिस्ट आन्दोलन र त्यसको नेतृत्वविरुद्ध जनतामा केही भ्रम सिर्जना गर्न खोजेको बताए । उनले भने, ‘आम जनताले पाँच वर्ष मात्र नभएर अबको पचासौँ वर्षसम्म कम्युनिस्टले नै सरकार चलाएको हेर्न चाहेका छन् ।’
सोही कार्यक्रममा नेकपाका नेता एवं संविधानसभाका अध्यक्ष सुभाषचन्द्र नेम्बाङले लामो सङ्घर्ष र बलिदानको जगमा जनता आफैँले लेखेको वर्तमान संविधान संसारकै उत्कृष्टमध्येको संविधान भएको बताए ।
“हिजोका संविधान कुनै राणाले र कुनै राजाले जारी गरेका थिए”, उनले भने, ‘अहिलेको संविधान जनताले बनाएको हुँदा कसैले अपहरण गर्ला र जनताका अधिकार फेरि पनि छिन्ला कि भन्ने अब कुनै गुञ्जायस छैन ।’

