३८ करोडमा बन्यो ल्यान्डफिल साइट, मन्त्री राइले गरे उद्घाटन
नेपालगन्ज ,बाँके उपमहानगरपालिकाको फोहोर ब्यवस्थापनकालागि ३८ करोड लागतमा बनेकाे ल्यान्डफिल साइट शहरी विकास मन्त्री मोहमद ईस्तियाक राइले उद्घाटन गरेका छन ।
एसियाली बिकास बैंकको सहयोगमा एकीकृत सहरी विकास कार्यक्रम अन्तर्गत करिब २३ बिघा क्षेत्रफलमा आधुनिक ल्यान्डफिल साइट निर्माण गरिएको थियाे । साइट उपमहानगरपालिका-२३ हिरमिनियामा निर्माण गरिएको छ ।
ल्याण्डफिल साईटको उद्घाटन गर्दै शहरी विकास मन्त्री राइले फोहोर ब्यवस्थापनकालागि अब कुनै समस्या नहुने जिकिर गरे । नेपालन्जमा निर्माण गरीएको ल्याण्डफिल साईट देशकै नमुना हुने बताउँदै मन्त्री राइले समग्र जिल्लाकै फोहोर ब्यवस्थापनमा प्रभावकारी रहने विश्वास ब्यक्त गरे ।
विहिबारबाट संचालनमा आएको ल्यान्डफिल साइटमा ३५ टनसम्म फोहोर प्रशोधन गर्न सकिन्छ भने दैनिक ८ टनसम्म फोहोर प्रशोधन गर्न सकिन्छ । ल्यान्डफिल साइटमा फोहोर छुट्याउने, फोहोर पानी र फिल्टर गरिएको पानी फाल्ने ट्याङ्की लगायतका संरचनाहरु निर्माण गरिएको छ । ल्यान्डफिल साइटमा नेपालगन्ज नगरका शौचालयबाट लगिएको फोहोर भण्डारण गर्ने ट्यांकीको समेत ब्यवस्था गरिएको छ ।
उपमहानगरभित्र दैनिक रुपमा उत्पादन हुने फोहोर संकलनका लागि ११ हजार थान ‘डस्टबिन’ को ब्यवस्था गरिएको र छिट्टै बितरण गरीने बताईएको छ । फोहोर संकलन गर्न चारवटा गाडीका साथै ल्यान्डफिल साइटकालागि आवश्यक पर्ने १२ वटा ई-रिक्सासमेत तयारी अवस्थामा राखिएको छ ।