डेंगु संक्रमणबारे जानकारी गराउन सभामुखको ‘रुलिङ’
काठमाडौं, सभामुख कृष्णबहादुर महराले डेंगुको संक्रमणका सम्बन्धमा सदनलाई जानकारी गराउन सरकारलाई ‘रुलिङ’ गरेका छन् ।
प्रतिनिधिसभाको बिहीबार बसेको बैठकको शून्य समयमा सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरुले डेंगुको महामारी फैलिँदासमेत सरकारले नियन्त्रणका लागि प्रभावकारी काम गर्न नसकेको आरोप लगाउँदै यस सम्बन्धमा सरकारको धारणा माग गरेपछि सभामुखले रुलिङ गरेका हुन् ।
उनले डेंगी संक्रमणका विषयमा संसदमा पटक–पटक आवाज उठेको भन्दै यस विषयमा संसदमा जानकारी गराउन स्वास्थ्यमन्त्री र सरकारलाई निर्देशन दिएका हुन् ।
तर, सभामुखको रुलिङपछि पनि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले भने स्वास्थ्यमन्त्रीको राजीनामा मागेका छन् ।
रुलिङ गरेर झारा टार्ने भन्दै उनले स्वास्थ्य संकटकाल घोषणा गरेर नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न माग गरे । केही दिनदेखि सांसदहरुले संसदमा निरन्तर डेंगीका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।