गृहमन्त्रीका भाइको मुद्दा अदालतमा पेश

काठमाडौं – गृहमन्त्री रामबहादुर थापा ‘बादल’का साइला भाइ नरेशकुमार थापालाई प्रहरीले पक्राउ गरेर जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको छ ।

मंगलवार राष्ट्रिय अनुसन्धान ब्यूरो (सीआईवी)ले सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । सरकारी वकिल कार्यालयले बुधवार अदालतमा मुद्दा दायर गरेपछि ४ जना अभियुक्तको बयान भएको थियो भने बिहीवार अन्यको बयान भइरहेको छ ।

अभियुक्तको बयान सकिएपछि थुनछेक बहस हुने सरकारी वकिल कार्यालय काठमाडौंका प्रवक्ता नुमराज खनालले बताए ।

अभियुक्तलाई आपराधिक लाभमा मुलुकी अपराध संहिताको दफा २५३(३)(क) र सांगठनिक निवारण ऐन–२०७० दफा (९)(क) बमोजिम सजाय होस् भनी माग दाबीसहित मुद्दा दर्ता गरिएको उनले बताए ।

दफामा उल्लेख छ, ‘आपराधिक लाभ लिने नियतले कसैको ज्यान लिने, अङ्गभङ्ग गर्ने वा गम्भीर चोट पुर्‍याउने डर वा त्रास देखाएमा ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना ।’ अभियुक्त नरेश थापालाई आपराधिक लाभ अभियोगमा सजाय गर्न सरकारी वकिल कार्यालयले मागदाबी गरेको छ ।

आरोप अदालतबाट प्रमाणित भएमा गृहमन्त्रीका भाइ नरेशलाई ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने कानूनमा उल्लेख छ ।

नरेशसँगै काठमाडौं स्युचाटारका पवन खड्का, काठमाडौं इचंगुनारायणका सुरेन नगरकोटी, काठमाडौं भेडासिंहका शैलेश प्रजापति, काठमाडौं नागार्जुनका विनोद लामा, वीरबल भट्टराई, मनबहादुर पुनमगरसहित ९ जनालाई अभियुक्त बनाइएको छ ।

अभियुक्तमध्ये समिरमान सिंह बस्नेत र मानबहादुर पुन जेलमा सजाय भुक्तान गरिरहेका छन । अन्य ६ जनालाई अदालतमा उपस्थित गराइएको छ ।

अभियुक्तले निर्माण व्यवसायीलाई फोनबाट धम्क्याउने, ठेक्काको ३ प्रतिशत पैसा माग्ने र नदिएमा अपहरण गर्छु, ज्यान मार्छु भन्दै आएको प्रहरीले जनाएको छ ।